खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली


चितवन -भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट एक करोड ५५ लाख तीन हजार ६८५ रुपैयाँ बक्यौता रकम असुली गरेको छ। पाँच हजार रुपैयाँभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो।

कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो। फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उनले जानकारी दिए। कार्यालयले अझै ५०० ग्राहकबाट २० लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ। ती लामो समयदेखि महसुल नबुझाएका ग्राहक हुन्।

बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उनले बताए। कार्यालयले बक्यौता असुलीका लागि टोली नै गठन गरेर काम गरिरहेको छ। गत वर्ष १६ करोड ५९ लाख ४२ हजार १०० रुपैयाँ महसुल बिलिङ गरेकोमा १६ करोड ९९ लाख ७२ हजार ४४० रुपैयाँ सङ्कलन भएको थियो। यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो।

यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन। मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ। आठ महिनाको बक्यौता रु एक करोडभन्दा बढी रहेको उनले जानकारी दिए। महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ।