नाइमा मोबिलिटी एक्स्पोः व्यापारी गाडी बेच्दै, बैंक ऋणी खोज्दै

इभी फाइनान्सिङमा बैंकहरुको जोड, बैंकहरुले के दिँदैछन् सुविधा ?


काठमाडौं – यतिबेला नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा नयाँनयाँ ब्रान्ड र मोडलबीच प्रतिस्पर्धा रोचक बनिरहेको छ। अटो व्यवसायीबिच अटोको बिक्रीका लागि कडा प्रतिस्पर्धा भइरहेको समयमा बैंकहरुबीच ‘अटो फाइनान्सिङ’मा रोचक प्रतिस्पर्धा छ। नेपालीहरुको महान चाड दसैँ र तिहारको पूर्व सन्ध्यामा भइरहेको मोबिलिटी एक्सपोमा गाडी व्यापारीसँगै बैंकहरुसमेत प्रतिस्पर्धामा उत्रिएका हुन्।

बैंकहरुले धमाधम अटो लोनको ब्याजमा सहुलियत प्रदान सुरु गरेका छन्। नाइमा नेपाल मोबिलिटी एक्स्पोलाई लक्षित गरेर बैंकहरुले अटो लोनमा सहुलियत प्रदान गर्न थालेका हुन्। सो एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डको सहभागिता रहेको छ भने ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक तथा प्रदर्शनीमा राखिएका छन्। यस्तो अवस्थामा अटो व्यवसायीहरूले ग्राहक आकर्षित गर्न सवारीसाधनको मूल्य, छुट र एक्सचेन्ज अफर सार्वजनिक गरिरहेका छन्।

यता, बैंकहरूले पनि दिने कर्जा सुविधामा सकेको सहुलियत उपलब्ध गराएको बताएका छन्। नाइमा एक्सपोमा २० लाखदेखि ३ करोड रुपैयाँसम्मको चार पाङ्ग्रे सवारी बिक्रीका लागि राखिएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ग्लोबल आईएमई बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले स्टल नै राखेर गाडी लिने ग्राहकहरुलाई कर्जाको स्किमका बारेमा जानकारी दिइरहेका छन्। 

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नै बैंकहरुले गाडी किन्ने ग्राहकहरूलाई कर्जा उपलब्ध गराउँदै आइरहेका छन्। राष्ट्र बैंकले नै पनि बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जा कम हुन थालेपछि अटो लोनमा सहजीकरण गरेको छ। राष्ट्र बैंकले अटो लोनमा बैंकहरुले ६०–४० को सीमा तोकेको छ। कुनै पनि व्यक्तिले ४० प्रतिशत डाउन पेमेन्ट गरेर अटो लोन लिन सक्ने व्यवस्था छ। 

इभीलाई ‘फोकस’ गर्दै एनएमबि बैंक 

एनएमबि बैंकले नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी ‘इभी अटो कर्जा’ सुविधा ल्याएको हो। अहिले ग्राहकहरुको रोजाइमा इभी भएकाले बैंकहरुले यसमा जोड दिइरहेको एनएमबि बैंककी रिलेशनसिप म्यानेजर प्रियंका विष्ट बताउँछिन्। 

उनकाअनुसार एनएमबि बैंकले वातावरणमैत्री यातायात तथा दिगो बैंकिङ्गलाई प्रवर्धन गर्ने उद्देश्यले इभीमा थप सहुलियत प्रदान गरेको हो। ग्राहकको आवश्यकतालाई हेरेर बैंकको कर्जा अवधि भने ५ देखि ७ वर्षको राखेको छ। अरु समयमा इभीमा पनि बेसरेटमा १ प्रतिशत थप गरेर ब्याज लिएको बैंकले नाइमाका लागि छुट्टै सहुलियत ल्याएको हो। एनएमबि बैंकले ‘सेकेन्ड ह्यान्ड’ सवारी साधानमा पनि फाइनान्सिङ गरिरहेको विष्टले जानकारी दिइन्।

५.२५ प्रतिशत ब्याजमा अटो लोन दिँदै ग्लोबल आइएमई बैंक
नाइमाको सहप्रायोजक समेत रहेको ग्लोबल आईएमई बैंकले पनि मोबिलिटी एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन्। 

जसअनुसार, हालको आधारदरमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ। बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बताइएको छ। साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरुको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ।

३ वर्ष पछि उक्त कर्जाको दर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ। बैंकले आफ्नो स्टल नै राखेर गाडी किन्न इच्छुक ग्राहकहरूलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ। बैंकको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन सक्नेछन्। 

सिद्धार्थ बैंकको विशेष अटो लोन अफर
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ लक्षित गर्दै सिद्धार्थ बैंकले विशेष अटो लोन योजना सार्वजनिक गरेको छ। बैंकले एक्स्पोमा सहभागी ग्राहकलाई लक्षित गर्दै आकर्षक ब्याजदर तथा सेवा शुल्कसहितको अटो लोन अफर ल्याएको हो। बैंकका अनुसार एक्स्पो अवधिमा अटो लोन लिने ग्राहकले प्रिमियममा वार्षिक १ प्रतिशतसम्मको विशेष सुविधा पाउनेछन्। बैंकले ग्राहकलाई गाडी खरिद गर्न सहज वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले एक्स्पो विशेष अटो लोन योजना ल्याएको जनाएको छ। 

कृषि विकास बैंकको अफर नाइमा लक्षित अफर
कृषि विकास बैंकले नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना ल्याएको छ। बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले ब्याजको प्रिमियम दर र सेवा शुल्कमा विशेष छुट पाउनेछन्। बैंकले ब्याजको प्रिमियम दर र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट दिइने जनाएको छ।