काठमाडौं – नेपालमा मोटरसाइकलको संख्या बढेसँगै दुर्घटनामा पर्ने मोटरसाइकलको संख्या पनि हरेक वर्ष बढ्दै गएको छ। प्रहरीको तथ्यांकअनुसार पछिल्लो एक दशकमा १ लाख ६० हजार ५७० वटा मोटरसाइकल दुर्घटनामा परेका छन्।सडकमा दुईपांग्रे सवारी साधनको चाप अत्यधिक रहेको र त्यसअनुसार सडक पूर्वाधार विस्तार हुन नसक्दा दुर्घटनाको जोखिम बढ्दै गएको प्रहरीको भनाइ छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यकामा सञ्चालनमा रहेका करिब ८० प्रतिशत सवारी साधन दुईपांग्रे छन्।
मोटरसाइकलको संख्या बढ्दै जाँदा सडकमा यसको उपस्थिति झन् बाक्लिँदै गएको छ। तर, चालकको व्यवहार, सडकको अवस्था र पूर्वाधार विस्तारमा सुधार हुन नसके मोटरसाइकल दुर्घटनाको बढ्दो ग्राफ रोक्न चुनौतीपूर्ण हुने जानकारहरू बताउँछन्। कार्यालय तथा विद्यालय खुल्ने र बन्द हुने समयमा एकै पटक ठुलो संख्यामा सवारी साधन सडकमा निस्कँदा ट्राफिक जामसँगै दुर्घटनाको जोखिम पनि बढ्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्ले बताउँछन्। उनका अनुसार सवारी साधनको संख्या निरन्तर बढेपनि सडक पूर्वाधारको विस्तार भने अपेक्षाकृत हुन सकेको छैन।

‘निर्माण भएका अधिकांश सडकले आफ्नो क्षमताभन्दा बढी सवारी साधनको भार वहन गरिरहेका छन्,’ काफ्लेले भने।उनका अनुसार तीव्र गतिमा सवारी चलाउनु, मादक पदार्थ सेवन गरी सवारी चलाउनु र ट्राफिक नियमको पालना नगर्नु सडक दुर्घटनाका प्रमुख कारण हुन्। यस्तै, पैदलयात्रीले जेब्राक्रसिङ वा आकाशे पुलको प्रयोग नगरी जथाभावी सडक पार गर्दा पनि दुर्घटनाको जोखिम बढ्ने गरेको उनले बताए।
एक वर्षमै २६ हजारभन्दा बढी मोटरसाइकल दुर्घटनामा
प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा १ हजार २८२ वटा बढी मोटरसाइकल दुर्घटनामा परेका छन्। आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४२४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन्। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा २५ हजार १४२ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ९८४, ०७९/८० मा १९ हजार ५ सय ११, ०७८/७९ मा १९ हजार ९ सय ७४, ०७७/७८ मा १७ हजार ८७, ०७६/७७ मा १० हजार ८ सय ६९, ०७५/७६ मा ८ हजार ५ सय ५३, ०७४/७५ मा ६ हजार ८ सय ७४ र ०७३/७४ मा ६ हजार १ सय ५२ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। यसले पछिल्ला वर्षमा मोटरसाइकल दुर्घटनाको संख्या तीव्र रूपमा बढ्दै गएको देखाउँछ। यातायात व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०८१/८२ मा मात्रै १ लाख ९६ हजार २११ वटा मोटरसाइकल दर्ता भएका थिए। सडकमा दुईपांग्रे सवारीको संख्या बढ्दै जानु र सडकको क्षमता सोही अनुपातमा विस्तार हुन नसक्नु दुर्घटना बढ्नुको एउटा कारण रहेको प्रहरीको भनाइ छ।
तीव्र गति र लेन अनुशासन मुख्य चुनौती
काठमाडौं उपत्यकामा दुईपांग्रे सवारी साधन दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति र लेन अनुशासन उल्लंघनलाई प्रमुख चुनौतीका रूपमा लिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि दुईवटा पक्षलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। एउटा कानुन कार्यान्वयन अर्थात् ‘इन्फोर्समेन्ट’ र अर्को जनचेतना अभिवृद्धि हो।ट्राफिक नियम उल्लंघन गर्ने र लापरवाहीपूर्वक सवारी चलाउनेलाई कानुनी दायरामा ल्याउने गरिएको सुवेदीले बताए। उनका अनुसार दुईपांग्रे सवारी साधन आफैंमा तुलनात्मक रूपमा बढी जोखिमयुक्त भएकाले यसको प्रयोग गर्दा चालकले थप सावधानी अपनाउन आवश्यक हुन्छ।

‘दुईपांग्रे सवारी साधन आफैंमा पनि अलिकति जोखिमयुक्त सवारी साधन हो। यसलाई चलाउँदा धेरै हिसाबले सावधानी अपनाउनुपर्ने हुन्छ,’ उनले भने। उनका अनुसार अन्य चारपांग्रे सवारीको तुलनामा दुईपांग्रे सवारी दुर्घटनामा बढी पर्ने गरेका छन्। दुईपांग्रे सवारी दुर्घटनामा मानवीय क्षतिको सम्भावना पनि बढी हुने भएकाले समस्या थप गम्भीर रहेको प्रहरीको भनाइ छ। दुर्घटनामा चालक तथा यात्रुको ज्यान जाने वा घाइते हुनेसँगै सवारी साधन र अन्य भौतिक संरचनामा समेत क्षति पुग्ने गरेको सुवेदीले बताए। चालकको लापरवाहीले पैदलयात्री पनि जोखिममा प्रहरीका अनुसार चालकको एउटा सानो लापरवाहीले चालक स्वयं मात्र नभई सडकमा हिँडिरहेका निर्दोष पैदलयात्रीसमेत दुर्घटनाको सिकार बन्न सक्छन्। सडकमा हिँडिरहेका पैदलयात्री अर्को सवारी चालकको लापरवाहीका कारण दुर्घटनामा पर्ने अवस्था पनि चुनौतीका रूपमा रहेको सुवेदीले बताए। ‘एउटा व्यक्तिको लापरवाहीका कारण अर्को निर्दोष व्यक्ति दुर्घटनामा नपरोस् भन्ने कुरामा हामी अत्यन्त संवेदनशील भएर जिम्मेवारीमा खटिएका छौं,’ उनले भने।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि कानुन कार्यान्वयनसँगै चालक र सर्वसाधारणमा सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी चेतना बढाउन आवश्यक रहेको जनाएको छ। यातायात व्यवस्था विभागका अनुसार नेपालमा दर्ता भएका कुल सवारी साधनमध्ये करिब ८० प्रतिशत दुईपांग्रे छन्। सडक दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार व्यक्ति, पैदलयात्री र साइकलयात्रीको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको प्रहरीको भनाइ छ। दुर्घटनाका मुख्य कारणमा तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, ट्राफिक संकेतको बेवास्ता र पैदलयात्रीको लापरवाही रहेका छन्। त्यसबाहेक सवारी साधनमा हुने यान्त्रिक गडबडी, कमजोर सडक पूर्वाधार, खराब मौसम तथा कठिन भौगोलिक अवस्थाले पनि दुर्घटनाको जोखिम बढाउने गरेको छ।








About Us
प्रतिक्रिया