अटोमोबाइल क्षेत्रलाई आर्थिक प्रणाली र पूर्वाधार विकाससँग जोडेर हेर्नुपर्छ: अध्यक्ष श्रेष्ठ


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई आर्थिक प्रणाली र पूर्वाधार विकाससँग जोडेर हेर्नुपर्ने बताएका छन्। नेपाल अटोमोबाइल्स इन्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोशिएशन (नाइमा) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन सत्रमा उनले यस्तो बताएका हुन्।

उनले गतिशीलता (मोबिलिटी) र कनेक्टिभिटी आर्थिक विकासको मुख्य आधार भएको बताएका छन्। अटोमोबाइल क्षेत्रलाई केवल विलासिताको साधनका रूपमा मात्र हेरिनु गलत भएको बताएका हुन्। अध्यक्ष श्रेष्ठले नेपालमा सुरक्षित, दिगो र प्रविधिमैत्री यातायात प्रणालीको आवश्यकता औँल्याउँदै यसले कनेक्टिभिटी, ऊर्जा र प्रविधिको विकासले नै अन्ततः आर्थिक वृद्धिलाई गति दिने र लगानीको सम्भावना बढाउने बताए।

`विगतदेखि नै अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदलिएको छैन। सरकारले यसलाई जहिले पनि विलासिताको वस्तुको रूपमा मात्र परिभाषित गरेर उच्च भन्सार दर लगाउँदै आएको छ। नेपालमा लगाइने भन्सार दर संसारकै उच्चमध्येमा पर्छ, जुन यो क्षेत्रको विकासका लागि बाधक छ´ उनले भने।

पूर्वाधार विकासमा सुस्तता काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप र सडक पूर्वाधारको अवस्थाबारे बोल्दै उनले २० वर्षअघिको तुलनामा सवारी साधनको संख्या निकै बढे पनि सडक विस्तार र आधुनिक पूर्वाधार निर्माणमा राज्य पछि परेको बताए।

ट्राफिक व्यवस्थापनमा जनशक्तिको अभाव सडक सुरक्षा र ट्राफिक व्यवस्थापनका चुनौतीहरू रहेको बताउँदै उनले सवारी साधनको संख्या र ट्राफिक प्रहरीको अनुपात नमिल्दा समस्या सिर्जना भएको बताए। ८-१० वर्षअघि काठमाडौंमा ५-६ सयको हाराहारीमा रहेका ट्राफिक प्रहरीको संख्या अहिले पनि उस्तै रहनु र सवारी साधन भने कयौँ गुणा बढ्नुले व्यवस्थापनमा कठिनाइ भइरहेको उनको भनाइ छ। यातायात क्षेत्रलाई व्यवस्थित बनाउन र आर्थिक विकासलाई गति दिन सरकारले नीतिगत सुधारसँगै पूर्वाधारमा ठोस लगानी गर्नुपर्ने उनले बताए।