काठमाडौं – नेपाल सरकारको निशान छाप अनधिकृत रूपमा प्रयोग गरी ‘जीपीएस ट्र्याकर डिभाइस’ बिक्री–वितरण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने रौतहटका दिपेन्द्र कर्माचार्य रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२२ टेवहालबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार कर्माचार्यले आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्याउँदै आफूले बिक्री गर्ने जीपीएस ट्र्याकर नेपाल सरकारबाट मान्यता प्राप्त उपकरण भएको भनी प्रचारप्रसार गर्दै आएका थिए। उनले व्यावसायिक प्रयोजनका लागि चीनबाट आयात गरिएका जीपीएस ट्र्याकरमा नेपाल सरकारको आधिकारिक निशान छाप अङ्कित गरी बिक्री–वितरण गरेको आरोप छ।
नेपाल सरकारबाट मान्यता प्राप्त उपकरणजस्तो देखाउन निशान छाप प्रयोग गरिएपछि सर्वसाधारण भ्रममा पर्ने र उपकरण सरकारी निकायबाट स्वीकृत तथा प्रमाणित भएको विश्वास गर्ने अवस्था सिर्जना भएको प्रहरीको भनाइ छ। प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जिपिएस ट्रर्याकर डिभाइस बरामद गरेको छ। उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।








About Us
प्रतिक्रिया