स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ


काठमाडौं – पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्। आदर्शनगरमा प्रहरीले मोटरसाइकल रोकी खानतलासी लिने क्रममा मोटरसाइकलमा सवार चार जनाको साथबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

पक्राउ पर्नेमा भारतका सुरज कर्ण, बाराका उपेन्द्र साह, सागरकुमार सर्राफ र पर्साका राहुलकुमार गुप्ता रहेका छन्। प्रहरीले सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद गरेको छ।

बरामद रकममध्ये १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको छ। उक्त रकमसहित उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।