स्रोत नखुलेको नगद २४ लाखसहित दुई जना पक्राउ


काठमाडौं – काठमाडौं महानगरपालिका –२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका– ६ घर भएका ४१ वर्षीय ईश्वर थापा रहेका छन्।

प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२– ०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं महानगरपालिका– २८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रुपैयाँ सहित कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।