तलब बढेपछि

नेपालमा सुरक्षा निकायका अधिकारीहरूले कति खान्छन् तलब ? 

‘तलब बढेपछि प्रहरीमा उत्साह बढ्यो’


काठमाडौं – सरकारले चालु आर्थिक वर्ष ०८३/८४ को बजेट मार्फत बढाएको तलबमान लागू भएको छ। सरकारले साउन १ गतेदेखि लागु हुने गरी तलब, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्ता तय गरेको हो। साउन १ गते देखि लागु हुने गरी सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको नेपाल नयाँ तलबमान कायम गरेको छ। प्रहरीको तलब वृद्धिसँगै प्रहरी कर्मचारीमा नयाँ उत्साह र ऊर्जा थपिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्ले बताउँछन्। बढ्दो महँगी र जीवनयापन खर्चलाई ध्यानमा राखेर सरकारले गरेको तलब वृद्धि सकारात्मक कदम भएको उनको भनाइ छ।

उनले तलब वृद्धिले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन सहयोग पुग्ने र नागरिक सुरक्षाप्रतिको जिम्मेवारी अझ प्रभावकारी रूपमा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। उनका अनुसार यसले राष्ट्र सुरक्षा, नागरिक सुरक्षा र अपराध नियन्त्रणका क्षेत्रमा खटिने प्रहरीलाई थप उत्साहित बनाउनेछ। काफ्लेले प्रहरी संगठन सेवामुखी संस्था भएकाले कर्मचारीले तलबलाई मात्र प्राथमिकता दिएर काम नगर्ने बताए। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको (आईजीपी) महानिरीक्षकको तलब बराबर हुन्छ। यद्यपि, नेपाली सेनाका प्रधानसेनापतिको तलब भने नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखको भन्दा बढी छ। प्रधान सेनाप्रतिको तलब ८४ हजार ९ सय ३२ रुपैयाँबाट बढेर ९० हजार ५ सय ९४ रुपैयाँ पुगेको छ।

सेनाका रथी, उपरथीको भन्दा थोरै तलब प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षकको रहेको छ। नयाँ तलब लागू भएसँगै रथीको तलब ८१ हजार ६४३ बाट बढेर ८७ हजार ८५ पुगेको छ भने , उप रथीकोको तलब ७९ हजार २९० बाट बढेर ८४ हजार ५७६ पुगेको छ। प्रहरी महानिरीक्षकको तलब ७९ हजार २९० बाट बढेर ८४ हजार ५७६ पुगेको छ। प्रहरीमा महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको तलब बराबर छ। नयाँ तलबमानअनुसार नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) को मासिक तलब ६७ हजार ४५ रुपैयाँबाट बढेर ७३ हजार ७५० रुपैयाँ पुगेको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को तलब ६२ हजार ४ सय ६६ रुपैयाँबाट बढेर ७० हजार ७ सय ९४ रुपैयाँ कायम गरिएको छ।

यस्तै, प्रहरी उपरीक्षक (एसपी)को मासिक तलब ५७ हजार ५ सय ७ रुपैयाँबाट बढेर ६७ हजार ९२ रुपैयाँ पुगेको छ। नायव उपरीक्षक (डीएसपी) को तलब ५३ हजार ६ सय ११ रुपैयाँबाट बढेर ६२ हजार ५४६ रुपैयाँ पुगेको छ। प्रहरी निरीक्षक (इन्सपेक्टर) को तलब ४८ हजार ५८ रुपैयाँबाट बढाएर ६० हजार ८ सय ७४ रुपैयाँ पु¥याइएको छ।

प्रहरी वरिष्ठ नायव निरीक्षकको तलब ४५ हजार ९८ रुपैयाँबाट बढेर ५२ हजार ६ सय १३ रुपैयाँ पुगेको छ। प्रहरी नायव निरीक्षक (एसआई) को मासिक तलब ३८ हजार २ सय ३ रुपैयाँबाट बढेर ४८ हजार ३ सय ८७ रुपैयाँ पुगेको छ। सहायक निरीक्षक (एएसआई) को तलब ३६ हजार १ सय ४२ रुपैयाँबाट बढाएर ४५ हजार ५७७ रुपैयाँ कायम गरिएको छ।

साथै, प्रहरी वरिष्ठ हवलदारको तलब ३१ हजार ३ सय ७२ रुपैयाँबाट बढेर ३७ हजार ६ सय ४८ रुपैयाँ पुगेको छ। प्रहरी हवलदारको तलब ३० हजार ३ सय ७३ रुपैयाँबाट बढेर ३७ हजार ४ सय ५७ रुपैयाँ पुगेको छ । सहायक हवलदारको तलब २९ हजार २ सय ९ रुपैयाँबाट बढाएर ३७ हजार रुपैयाँ पु¥याइएको छ। यसैगरी, सुरक्षा निकायका सबैभन्दा तल्लो दर्जाका कर्मचारीको तलब समान रहेको छ। नयाँ तलबमानअनुसार प्रहरी जवान, सिपाही तथा सशस्त्र प्रहरी जवानको मासिक तलब ३६ हजार ३ सय ३८ रुपैयाँ कायम गरिएको छ। यसअघि सिपाही, प्रहरी जवान र सशस्त्र प्रहरी जवान २८ हजार ६ सय ९० रुपैयाँ मासिक तलब पाउँदै आएका थिए।

प्रहरीमा सबैभन्दा तल्लो तहका जवानदेखि उच्च तहका अधिकृतसम्मको तलब क्रमशः बढ्दै जाने व्यवस्था रहेको छ। आधारभूत तलबका अतिरिक्त महँगी भत्ता, पोसाक भत्ता, जोखिम भत्ता, राशन, आवास तथा अन्य सेवा–सुविधा सम्बन्धित निकाय र जिम्मेवारीअनुसार उपलब्ध गराइन्छ।