काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिलअन्तर्गत गोकर्ण (माकलबारी) नापी टोलीमा कार्यरत अमिन टोप जङ खत्रीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।अख्तियारका अनुसार खत्रीले जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खत्रीलाई सेवाग्राहीबाट १ लाख ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा खत्रीले आफ्नो पद तथा ओहदाको दुरुपयोग गर्दै जग्गा हालसाबिक गर्ने र जग्गाधनी पुर्जा बनाउने काममा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग उक्त रकम माग गरी लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गर्दै १ लाख ६० हजार रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।







About Us
प्रतिक्रिया