८ वर्षपछि सर्वोच्चको फैसला : सम्पत्ति शुद्धीकरण मुद्दामा चक्रे मिलनले पाए सफाइ


काठमाडौं – गुण्डा नाइके मिलन गुरुङ ‘चक्रे मिलन’ ले सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन्। ८ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त मुद्दाको अन्तिम टुंगो बिहीबार लागेको हो।

न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतले दिएको सफाइको फैसला सदर गर्दै सरकारको पुनरावेदन अस्वीकार गरेको छ। विशेष अदालतको निर्णय बदर गर्न माग गर्दै सरकारले २०७५ जेठ ३० गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो। तर सर्वोच्चले उक्त माग अस्वीकार गरेसँगै विशेष अदालतको फैसला कायम भएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा २०७० जेठमा चक्रे मिलनसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उनीहरूमाथि अवैध गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, धम्की दिएर रकम असुल्ने तथा त्यस्तो सम्पत्तिलाई वैध देखाउन विभिन्न क्षेत्रमा लगानी गरेको आरोप लगाइएको थियो।

अभियोगपत्रमा चक्रे मिलनले झन्डै ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी गरिएको थियो। विभागका अनुसार उनले काठमाडौंमा ७ आना जग्गा तथा परिवारका सदस्यका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गासहित ७ करोड रुपैयाँभन्दा बढीको सम्पत्ति अवैध रूपमा जोडेको आरोप थियो। यसै मुद्दाका अर्का अभियुक्त राजीव गुरुङ ‘दीपक मनाङे’ ले भने २०७४ माघ १० गते नै विशेष अदालतबाट सफाइ पाइसकेका थिए। अन्य अभियुक्त गणेश लामा, पर्शुराम बस्नेत र अभिषेक गिरीविरुद्धको मुद्दा भने अझै अदालतमा विचाराधीन रहेको छ।

Skip This