एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना


काठमाडौं – स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रालिलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ।

अनुगमनका क्रममा तोकिएभन्दा बढी मूल्य लिएको पाइएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ। यस्तै, गृष्मा इन्टरप्राइजेजलाई व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यस्तै, सो फर्मलाई यही साउन १ गतेदेखि हालसम्मको खाना पकाउने ग्यासको बिक्री वितरणको विवरण, खरिद बिक्री बिलसमेत लिएर तीन दिनभित्र उपस्थित हुन भनिएको छ। विभागले अन्य व्यावसायिक फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। स्थानीय उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा विभागले नियमित रूपमा अनुगमन गर्दै आएको छ।

पछिल्ला दिनमा खाना पकाउने ग्यासमा देखिएको समस्या समाधानका लागि विभागले अनुगमन तथा निरीक्षणलाई थप प्रभावकारी बनाएको छ। अनुगमन तथा निरीक्षण गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशक एवं कारबाही गरिएको जनाएको छ।