घुस लिएको आरोपमा सप्तरीका भेटेरिनरी अस्पताल प्रमुख दाससहित दुई जनाविरुद्ध मुद्दा दायर


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा.राम पवित्र दाससहित दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दास र सोही कार्यालयका हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूलाई सेवा उपलब्ध गराएबापत प्राप्त हुने भुक्तानी रकमबाट २० प्रतिशत कमिसन माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई घुस  रकमसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा  दासले आफ्नो जिम्मेवारीअन्तर्गत खोप कार्यक्रम सम्पन्न गरेका भ्याक्सिनेटरहरूलाई कानुनबमोजिम पाउनुपर्ने पारिश्रमिक भुक्तानी गरिदिएबापत रकम माग गरेको पाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार दासले सवारी चालक भोगेन्द्र यादवसँगको मिलेमतोमा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुसका रूपमा माग गरी बाध्य बनाएको र सोही क्रममा १ लाख ३२ हजार घुस लिएको पुष्टि भएको छ। उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर भएको ठहर गर्दै अख्तियारले दुवै जनाविरुद्ध बिगो रकम १ लाख ३२ हजार कायम गरेको छ।

आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।