काठमाडौँ – विभिन्न सञ्चारमाध्यममा बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको समाचार सार्वजनिक भएपछि नेपाल आयल निगमले बजारमा पर्याप्त आपूर्ति भइरहेको दाबी गर्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। निगमले बजारको आकस्मिक मागलाई सम्बोधन गर्न विविध अल्पकालीन र दीर्घकालीन उपाय अपनाइएको जनाउँदै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको हो।
काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई ध्यानमा राख्दै निगमले साउन १६ गते (शनिबार)देखि निगमको टेकुस्थित कार्यालयबाटै बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विभिन्न ब्राण्डका ग्यास सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाएको छ। सम्बन्धित उद्योगहरूमार्फत नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यास लगायत अन्य ब्राण्डका सिलिण्डरहरू बिक्री भइरहेका छन्।
यसका साथै, ग्यास उद्योगीहरूलाई पनि आफ्नै उद्योग परिसरबाट बिक्री वितरण गर्न र उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ। निगमका अनुसार घरायसी प्रयोजनका लागि ग्यास खरिद गर्न आउने उपभोक्ता, विशेषगरी जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरूलाई प्राथमिकतामा राखी बिक्री गर्न बिक्रेताहरूलाई निर्देशन दिइएको छ।
व्यवस्थित बिक्रीका लागि खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राख्न भनिएको छ। निगमको तथ्यांक अनुसार नेपालमा ग्यासको मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेको छ। वर्तमान आकस्मिक मागलाई ध्यानमा राखेर निगमले यस महिना आयातको परिमाण समेत बढाएको जनाएको छ। साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन एलपी ग्यास आयात भइसकेकाले आपूर्तिमा कुनै समस्या नरहेको निगमले बताएको छ।







About Us
प्रतिक्रिया