क्यानका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा छाड्न आदेश, थुनामुक्त नहुने


काठमाडौं – विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाएपनि थुनामुक्त भने हुन नपाउने हितानले बताइन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

ठेक्का सम्झौतामा ठेकेदार कम्पनीले नै राजस्व तिर्ने उल्लेख, भए पनि त्यसको विपरीत राजस्व छुट दिएको आरोपमा उनीहरूमाथि ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ। राजस्व छुटसम्बन्धी यसअघिका मुद्दामा अन्य आरोपितहरू पनि धरौटीमा छुटीसकेका छन्।