काठमाडौं – नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा परी सुन तथा अन्य बहुमूल्य वस्तु नेपाल नल्याउन विशेष आग्रह गरेको छ।
पछिल्ला दिनहरूमा दुबई, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आर्थिक प्रलोभन देखाई सुनका सिक्री, बहुमूल्य धातुका सामान तथा अन्य वस्तु नेपाल ल्याइदिन आग्रह गर्ने र त्यसका लागि खरिद बिलसमेत उपलब्ध गराउने प्रवृत्ति बढ्दो देखिएको प्रहरीले बताएको छ।
प्रहरीले यस्ता वस्तु बोकेर नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानुनबमोजिम जाँच हुँदा अवैध सुन ओसारपसारको अभियोगमा पक्राउ परेर कानुनी कारबाहीको सामना गर्नुपर्ने अवस्था सिर्जना भइरहेको जनाएको छ।
प्रहरीले यात्रुहरूलाई अपरिचित व्यक्ति, सुन तस्कर वा दलालहरूले प्रलोभनमा पारी सुन, बहुमूल्य धातु वा अन्य सामान दिएर नेपाल पठाउने गरेको पाइएकोले त्यस्ता कुनैपनि सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन आग्रह गरेको छ। साथै, विमानस्थलमा भेटिएका शंकास्पद गतिविधि वा प्रलोभनबारे सम्बन्धित सुरक्षा निकायलाई तत्काल जानकारी गराउन पनि नेपाल प्रहरीले अनुरोध गरेको छ।







About Us
प्रतिक्रिया