प्रधानमन्त्रीले गभर्नर भेटे, बैंकर भेट्दै अर्थमन्त्री: सरकारभित्रै शक्ति सन्तुलनको अभ्यास !


काठमाडौं – प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको बढ्दो दूरीसँगै कार्यपालिकाको शक्ति सन्तुलनको अभ्यास भइरहेको चर्चा सुरु भएको छ। नीतिगत विषय, सार्वजनिक नियुक्ति र बजेट निर्माणका क्रममा सिर्जित असमझदारी उत्कर्षमा पुगेपछि प्रधानमन्त्री र अर्थमन्त्री समानान्तर ढंगले आ-आफ्नो सक्रियता बढाउन थालेका छन्।

एकातिर प्रधानमन्त्री शाहले अर्थमन्त्रीलाई ‘बाइपास’ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र निजी क्षेत्रसँग सीधा संवाद गरिरहेका छन्। अर्कातिर अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूलाई मन्त्रालयमा डाकेर आफ्नै शैलीमा वित्तीय बजारको कमान्ड सम्हाल्ने कसरत थालेका छन्।

प्रधानमन्त्री र अर्थमन्त्रीबीचको यो टकराब विशेष गरी सार्वजनिक नियुक्ति र बजेटअघिका केही विवादित निर्णयपछि तीव्र देखिन थालेको छ। बजेट सार्वजनिक हुनुअघि ठुलो संख्यामा विद्युतीय सवारी भित्र्याइएको विषयमा प्रधानमन्त्री सचिवालयले नै छानबिनका लागि ध्यानाकर्षण गराएपछि दुई शीर्ष नेताबीचको सम्बन्धमा चिसोपन आएको थियो। त्यसयता अर्थमन्त्रीमार्फत सिफारिस भई आउने महत्त्वपूर्ण नियुक्तिहरूलाई प्रधानमन्त्री सचिवालयले रोक्ने र ढिलाइ गरिदिने रणनीति अख्तियार गर्दै आएको छ।

लामो समयको तानातान र अलमलपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा गोपाल भट्टलाई नियुक्त गरिए पनि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिमा अर्थमन्त्रीको सिफारिस अनुसारको एउटा पद अझै रोकिएको छ। प्रधानमन्त्री तहबाट आफ्ना सिफारिसहरू लगातार रोकिन थालेपछि क्रुद्ध बनेका अर्थमन्त्री वाग्लेले पनि नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिको सिफारिस प्रक्रियालाई ‘होल्ड’ मा राखिदिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।

सत्ता समीकरणभित्रको यो चिसोपनकै बीच प्रधानमन्त्री बालेन शाह र राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच उच्चस्तरीय छलफलहरू बाक्लिएका छन्। सार्वजनिक पद धारण गरेका अन्य पदाधिकारीलाई सहजै भेट नदिने प्रधानमन्त्री बालेनले गत चैत १७ मा गभर्नर पौडेलसँग बालुवाटारमा विशेष भेटवार्ता गरेका थिए। उक्त भेटमा रिक्त डेपुटी गभर्नरको नियुक्ति, बैंकिङ्ग क्षेत्रका समस्या, रेमिट्यान्स आप्रवाह र देशको बाह्य क्षेत्रको अवस्थाबारे गम्भीर समीक्षा भएको थियो।

त्यस्तै, असार ३२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको अर्को भेटमा मुलुकको सेयर बजार, बैंकिङ्ग तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था र सुस्ताएको लगानीकर्ताको मनोबल उकास्ने विषयमा दुई पक्षबीच छलफल भएको थियो। अर्थ मन्त्रालयलाई पन्छाएर प्रधानमन्त्री स्वयंले निजी क्षेत्र र नियामक निकायसँग प्रत्यक्ष सम्पर्क बढाएपछि अर्थमन्त्रीसँगको सम्बन्ध झनै पेचिलो बनेको अर्थ मन्त्रालय स्रोतको दाबी छ।

प्रधानमन्त्रीको ‘बाइपास’ रणनीतिको प्रत्युत्तरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि आफ्नो भेटघाटलाई तीव्रता दिन थालेका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे मन्त्रालयमा ‘क’ वर्गका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरूलाई छलफलका लागि बोलाइएको छ। यसअघि अर्थमन्त्रीले निजी क्षेत्रका तीन दर्जन प्रतिनिधिलाई बोलाएर छलफल गरेका थिए।

बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका, विद्यमान तरलता, ब्याजदर र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन यो बैठक डाकिएको सचिवालयको दाबी छ। तर, प्रधानमन्त्री र अर्थमन्त्रीले आ-आफ्नै तरिकाले सुरु गरेको यो रणनीतिक दौडधुपले मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच हुनुपर्ने आवश्यक सामञ्जस्ययता नभएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।