उद्योगी प्रकाश मुन्दडाको काकाको घरमा प्रहरीको छापा 


काठमाडौं – नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको काका बेनी गोपाल मुन्दडाको घरमा प्रहरीले छापा मारेको छ। विशेष सूचनाका आधारमा उनको घरमा छापा मारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटुवालले बताए। तर, उनको घरमा खनतलासी गर्दा त्यस्तो कुनै अवैध सामान फेला नपरेको कटुवालले बताए।

प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार, गैर कानुनी सामान राखेको सुचनाका आधारमा जिल्ला प्रहरी परिसर मोरङबाट खटिएको प्रहरीले छापा मारेको थियो। तर, सूचना अनुसारको गैरकानुनी सामाग्री नभेटिएको उनले बताए। रितपुर्वक खानतलासी गरी प्रहरीको टोली फर्किसकेको मिश्रले बताए।  

देवनरा समूहले मुख्यरुपमा चाँदीको कारोबार गर्छ। यो समूह नेपालको सबैभन्दा ठूलो चाँदी उद्योग सञ्चालक मानिन्छ। देवेनरा विराटनगरका उद्योगपतिहरू देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा‍ र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो। यी चार दाजुभाइ हुन्। समूहले जेजे ज्वेलर्स (चाँदीका गहना), बाबा आयल रिफाइनरी, हाइलाइफ चप्पल उद्योग, बाबा जुट मिल, साबुन, अगरबत्ती र डिटर्जेंट उत्पादन गर्दै आइरहेको छ। 

पछिल्लो समयमा सरकारले उद्योगी व्यवसायीहरुमाथि अनुसन्धान गरिरहेको छ। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र शंकर ग्रुपपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेक सुलभ अग्रवालको घर र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा मारेको थियो। 

साथै, पछिल्लो समयमा पक्राउ पर्ने व्यवसायीहरुको संख्या पनि उत्तिकै रहेको छ। केही समय अघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले ललितपुरको लेलेस्थित महादेव खोलामा सञ्चालित ओमकार आयल ईन्डस्ट्रिज प्रालिले मापदण्डभन्दा कम तौल भएको खाने तेल बिक्री वितरण गरेको आरोपमा सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका गरेको थियो। 

आफूले लिएको ठेक्का समयमा सम्पन्न नगरेको कसुरमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ परेको थिए। लिखतसम्बन्धी कसूर गरेको आरोपमा व्यवसायी नवीन कुमार अग्रवाल  पनि पक्राउ परेका थिए। उनले विभिन्न संस्थाको नाम, लेटरहेड, छाप तथा हस्ताक्षर दुरुपयोग गरी कागजात तयार पारेको देखिएको प्रहरीको दाबी थियो।  

साथै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छालाई पनि शेयर बजार र बीमा क्षेत्रसँग सम्बन्धित अनियमितता एवं बजार चलखेलको आरोपमा सीआईबीले पक्राउ गरेको थियो। कालिका कन्स्ट्रक्सनका प्रमुख एवं पूर्वमन्त्री पाण्डेलाई पनि प्रहरीले सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई टेन्डरको विवरण फेरबदल गरेको आरोपमा नियन्त्रणमा लिएको थियो।