काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सिरियल रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य गरगहना लुटपाट गर्ने घटनामा संलग्न कुख्यात ‘कर्मा समूह’का पाँच जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका कर्मा तामाङ, काभ्रेपलान्चोकका मनोज तामाङ, पासाङ घिसिङ, प्रतिमान गोले र कास्कीका आले गुरुङ रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानबाट समूहको मुख्य नाइके कर्मा तामाङ रहेको खुलेको थियो। उनलाई साउन १६ गते काठमाडौं महानगर क्षेत्रको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेलस्थित पानी ट्याङ्की नजिकबाट पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा कर्मा तामाङले प्रहरीमाथि खुकुरी प्रहार गर्ने प्रयास गर्नुका साथै मोटरसाइकलमा भाग्न खोजेपछि प्रहरीले उनको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एक थान खुकुरी, मोटरसाइकल चोरीमा प्रयोग हुने ‘टी–लक’, ‘मास्टर की’, विभिन्न मोटरसाइकलका पाँच थान नम्बर प्लेट तथा अन्य औजार बरामद गरेको छ।
प्रहरीका अनुसार, अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूमध्ये कर्मा तामाङविरुद्ध चोरी तथा डाँका सम्बन्धी नौ वटा, पासाङ घिसिङविरुद्ध चार वटा तथा प्रतिमान गोलेविरुद्ध तीन वटा मुद्दा दर्ता रहेको खुलेको प्रहरीले जनाएको छ। साथै कर्मा तामाङ २०८२ भदौ २४ गतेको घटनापछि प्रहरी वृत्त स्वयम्भूको हिरासतबाट फरार भएका थिए भने प्रतिमान गोले नख्खु कारागारबाट फरार रहेको पनि अनुसन्धानबाट खुलेको छ।
उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







About Us
प्रतिक्रिया