अब क्युआर भुक्तानीमा चिठ्ठाको अवसरः बिहीबारदेखि रसिदमै देखिनेछ लटरी नम्बर


काठमाडौं – नेपालमा बिल लिने संस्कारलाई प्रवर्धन गर्न सरकारले सञ्चालनमा ल्याएको चिठ्ठा कार्यक्रम अब डिजिटल भुक्तानी प्रणालीमा पनि पूर्ण रूपमा समावेश हुने भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार आगामी साउन २१ गतेदेखि भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसपी) हरू यस व्यवस्थामा आधिकारिक रूपमा जोडिने भएका छन्।

यो व्यवस्था लागू भएसँगै अब उपभोक्ताले कुनै पनि पसल वा व्यावसायिक प्रतिष्ठानमा सामान किनेर क्युआर कोडमार्फत भुक्तानी गर्दा सो विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा स्वतः दर्ता हुनेछ। यसबाट भ्याट बिलको आधारमा प्रदान गरिने चिठ्ठा कार्यक्रममा उपभोक्ताहरू सोझै र सहज रूपमा सहभागी हुन पाउनेछन्।

पीएसओ र पीएसपी प्राविधिक रूपमा पूर्ण तयार छन्। भुक्तानी प्रणाली सञ्चालक कम्पनी फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमार सापकोटाका अनुसार पीएसओका तर्फबाट गर्नुपर्ने सम्पूर्ण प्राविधिक काम सम्पन्न भइसकेको छ। फोनपेमार्फत हुने प्रत्येक क्युआर भुक्तानीको विवरण आन्तरिक राजस्व विभागको प्रणालीमा सिधै पठाउने (लिङ्क गर्ने) व्यवस्था मिलाइसकिएको उनले जानकारी दिए।

सुरुवाती चरणमा व्यापारी वा व्यवसायीहरूको स्थायी लेखा नम्बर (प्यान) र आवश्यक विवरणहरू अध्यावधिक नहुँदा वा केही सूचनाहरू अपूरो हुँदा व्यावहारिक जटिलता आउन सक्ने भए पनि प्रणाली सञ्चालन र तथ्यांक प्रवाहमा भने कुनै प्राविधिक समस्या नरहेको सापकोटाको भनाइ छ। उनले भने,’राष्ट्र बैंक र आन्तरिक राजस्व विभागको औपचारिक समन्वय अनुसार सूचना आदानप्रदान प्रक्रिया सुचारु हुनेछ।’

त्यस्तै, भुक्तानी सेवा प्रदायक कम्पनी आइएमई खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीका अनुसार राष्ट्र बैंकले तोकेको साउन १६ गतेको सूचना र २१ गतेको समयसीमा अनुसार कम्पनी प्राविधिक रूपमा पूर्ण रूपमा तयार भइसकेको छ। आन्तरिक राजस्व विभागको प्राविधिक टोलीसँग घनीभूत छलफल गरी प्रणालीलाई एकआपसमा आबद्ध (इन्टिग्रेट) गरिसकिएकाले आगामी बिहीबार (साउन २१) देखि नै यो सेवा सहजरूपमा सञ्चालनमा आउनेछ।

एपबाटै चिठ्ठा नम्बर प्राप्त हुने र विजेतालाई तुरुन्त खबर गरिने उनको भनाइ छ। खल्तीका प्रमुख कार्यकारी अधिकृत रेग्मीका अनुसार अब उपभोक्ताले डिजिटल वालेट वा क्युआरमार्फत बिलको भुक्तानी गर्दा प्राप्त हुने रसिद (रिसिप्ट)मै आन्तरिक राजस्व विभागले प्रदान गर्ने आधिकारिक चिठ्ठा नम्बर उपलब्ध गराइनेछ। यदि कुनै उपभोक्तालाई भ्याट चिठ्ठा परेमा कम्पनीले आफ्नै मोबाइल एपको सूचना (नोटिफिकेसन) तथा अन्य माध्यमबाट ग्राहकलाई तुरुन्तै जानकारी गराउने व्यवस्था मिलाएको छ।

डिजिटल भुक्तानीलाई पारदर्शी, प्रविधिमैत्री र आकर्षक बनाउन तीनवटै निकाय आन्तरिक राजस्व विभाग, नेपाल राष्ट्र बैंक र डिजिटल भुक्तानी प्रदायकहरूको सहकार्यमा तयार पारिएको यो पूर्वाधारले राजस्व संकलनलाई पारदर्शी बनाउने अपेक्षा गरिएको छ। सर्वसाधारणमा डिजिटल माध्यमबाट भ्याट बिल लिने बानीको विकास गर्नेछ।