सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्रमाथि भ्रष्टाचार मुद्दा, २ करोड ७२ लाख बिगो 


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। उनीमाथि २ करोड ७२ लाख बिगो दाबी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको हो ।

अख्तियारका अनुसार चौधरीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०६५ साल पुस ११ गतेदेखि २०८२ साल असार २९ गतेसम्मको अवधिमा आर्जन गरेको सम्पत्ति र खर्चको अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा चौधरी, उनकी श्रीमती तथा एकाघर परिवारका सदस्यहरूको आम्दानी र खर्च विश्लेषण गर्दा सो अवधिमा विभिन्न वैधानिक स्रोतबाट कुल २ करोड ७२ लाख  आम्दानी भएको देखिएको आयोगले जनाएको छ। 

आयोगका अनुसार उक्त अवधिमा जग्गा तथा घर खरिद, सवारी साधन खरिद, बीमा शुल्क, छोराछोरीको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्थाको कर्जा भुक्तानी, कम्पनी तथा शेयरमा लगानी, घर निर्माण, विद्युतीय उपकरण, फर्निचर, सुन खरिदलगायतका शीर्षकमा गरी कुल ४ करोड ९८ लाख  खर्च तथा लगानी भएको देखिएको छ।

आम्दानी र खर्चबीच तुलना गर्दा चौधरीको कुल व्यय वैधानिक आम्दानीभन्दा २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बढी देखिएको आयोगले जनाएको छ। आयोगले उक्त रकमको स्रोत पुष्टि हुन नसकेको भन्दै चौधरीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुल्न आएको छ । सो सम्पत्ति उनको एकासगोल परिवारका सदस्यहरूको नाममा समेत रहेको अख्तियारले जनाएको छ । 

उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९२० बमोजिमको कसुरमा देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।