‘लगानीकर्ताहरू नयाँ उद्योग खोल्न तयार भएपछि मात्रै आर्थिक रूपान्तरण सम्भव हुन्छ’


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको सिङ्गो आर्थिक टोली एउटा स्पष्ट निष्कर्षमा पुगेको बताएका छन् । उनले उद्योगिहरुको छलफलमा यस्तो बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले नेपालको आर्थिक रूपान्तरण स्वदेशी तथा विदेशी लगानीकर्ताहरू उच्च मनोबलका साथ लगानी विस्तार गर्न, नयाँ उद्योग खोल्न र उत्पादन बढाउन तयार भएपछि मात्रै सम्भव हुने बताएका छन् । सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो उत्पादन क्षमताको अधिकतम उपयोग गर्न सकून् भन्ने र निर्बाध व्यवसाय विस्तार र विविधीकरण गर्न सकून् भन्ने सरकारको लक्ष्य रहेको बताएका छन् ।

‘नयाँ पुस्ता, युवा उद्यमी र लगानीकर्ताहरूका लागि नयाँ उद्योग र उद्यम सुरु गर्ने विश्वासिलो वातावरण तयार होस्।’ उनले भने । यी तीन सूचकमा हामीले उल्लेखनीय सुधार ल्याउन समे आर्थिक वृद्धि, रोजगारी सिर्जना, राजस्व वृद्धि, र निर्यात प्रवर्द्धन स्वतः नयाँ गतिमा अघि बढ्नेछन्। त्यसैले हाम्रा सम्पूर्ण प्रयास र नीतिहरू यिनै तीन परिणाम हासिल गर्नमा केन्द्रित रहने बताए । उनले सरकारले आफ्नो भूमिकालाई स्पष्टसँग बुझेको बताउँदै अर्थमन्त्री वाग्लेले उद्योगीहरुको प्रत्येक जायज विषयलाई सम्बन्धित मन्त्रालय, विभाग र निकायसँग तत्काल समन्वय गरी समाधान गर्नका लागि अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ ‘रेस्पोन्स डेक्स’ स्थापना गरेर अघि बढ्ने बताए ।

उनले अब फाइल थन्किने नभइ द्रुत गतिमा निर्णय र समाधान हुने कार्यसंस्कृतिको विकास गरिने बताए । यसका साथै बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको जानकारी दिँदै उनले आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिकाअनुसार कार्यान्वयन गरिने बताए । पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पूँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेको उनको भनाई छ ।