काठमाडौं – आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सबैभन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारतबाट आएका छन् भने संयुक्त राज्य अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन् ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांक अनुसार भारत नेपालको सबैभन्दा ठुलो स्रोत बजार बनेको छ । कुल आगमनमध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ । भारतपछि अमेरिका १ लाख ११ हजार ३२५ दोस्रो तथा चीन १ लाख ९ हजार ८९२ तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।
यस्तै, बङ्गलादेशबाट ५८ हजार १६३, बेलायतबाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३,१९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यानमारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी कात्तिकमा सबैभन्दा बढी १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल आएका छन् । त्यसपछि चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटक आगमन भएको तथ्यांकले देखाएको छ ।
नेपाल पर्यटन बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष ०८२/८३ मा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायतका विभिन्न सहरहरूमा १२ वटा भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रमहरू गरिएको थियो । त्यसैगरी समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० वटा भन्दा बढी नेपालको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो ।
त्यसैगरी आर्थिक वर्ष ०८२/८३ को अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रस-बोर्डर तथा पर्यटन मार्ट र मेलाहरू गरिएको थियो । जसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताए। उनले गत आर्थिक वर्षको पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको बताए ।







About Us
प्रतिक्रिया