एक पटकको नेपाली, सधैँको नेपालीः अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र पार्टीको धारणामा विश्वस्त रहन प्रवासमा रहेका नेपालीहरूलाई आग्रह गरेका छन्। अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बर्ताका हुन्।

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ’ अर्थमन्त्री वाग्लेले भने। प्रवासमा रहेका नेपालीहरू सरकारको विकास र लगानी विस्तारका सद्भावना दूत भएको पनि उनको भनाइ छ। नेपालमा अविश्वसनीय जनमतबाट बनेको नयाँ सरकारले सुशासनको जग बसाल्न र आर्थिक विकासको ढोका फराकिलो बनाउन काम गरिरहेको र यसमा प्रवासमा रहेका नेपालीहरूको हातेमालो जरुरी भएको पनि अर्थमन्त्री वाग्लेले बताए।

‘सरकारले बितेका एक सय दिनमा गरेका कामहरू हेर्नुभयो भने हामी उच्च इमानदारीका साथ सुशासन, जनतालाई सरकारी सेवा सहज प्रदान गर्न र अर्थतन्त्रको जहाज मोड्नमा उल्लेखनीय सुरुवात गरेका छौँ,’ अर्थमन्त्री वाग्लेले भने। नेपालबाट लगानीको प्रतिफल फिर्ता लैजान सरकारले सहजीकरण गर्ने भन्दै उनले आफ्नो वा विदेशी लगानी नेपाल ल्याउन पहलकदमी लिन अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आग्रह गरे।