काठमाडौं – आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको दुई तिहाइ सरकारले ल्याएको बजेट कार्यान्वयनमा आएको छ। यससँगै, आजदेखि शिक्षा र स्वास्थ्यमा समता सुल्क र बिजुलीमा मूल्य अभिवृद्धि कर लाग्न थालेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू वर्षको बजेट ल्याउँदै शिक्षा, स्वास्थ्य र बिजुलीमा भ्याट लाग्ने व्यवस्था गरेसँगै आजदेखि यी सेवा महँगो हुन थालेको हो।
अर्थमन्त्री वाग्लेले शिक्षामा ३ प्रतिशत समता सुल्क लगाएका छन्। यो रकम रुकुम र रोल्पाका पिछडिएका वर्गका बालबालिकामा खर्च हुने बताएका थिए। तर, यो व्यवस्थाले उपत्यकालगायत देशका सहरी क्षेत्रमा अध्ययनरत विद्यार्थीका अभिभावकलाई अतिरिक्त सुल्क थपिन्छ। यसैगरी, आजदेखि बिजुलीमा समेत भ्याट सुरु भएको छ।
मासिक ५० युनिटभन्दा बढी बिजुली बालेमा सर्वसाधारणले ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ। यसबाट पनि सर्वसाधारणको ढाड सेकिने छ। देशको झन्डै ९७ प्रतिशत जनसंख्या बिजुलीको पहुँचमा आइसकेको छ। यसमध्ये ५० देखि ६० प्रतिशत जनसंख्याले मासिक ५० युनिटभन्दा बढी बिजुली खपत गर्छन्।
यस्तै, ‘राइड सेयरिङ’ एपको प्रयोगमार्फत आवतजावत गर्दा समेत ५ प्रतिशत भ्याट लाग्ने छ। यतिबेला देशमा आधा दर्जन हाराहारी ‘राइड सेयरिङ’ एप छन्। यी एपहरूबाट दैनिक हजारौँले सेवा लिँदै आएका छन्। यसबाट समेत सर्वसाधारणमा भार थपिनेछ।






About Us
प्रतिक्रिया