काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत इन्जिनियर (कम्प्युटर) राकेश कुमार दासविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
उनले प्रतिष्ठानको इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिने क्रममा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पट्नाबाट जारी भएको भनिएको इन्टरमिडियट तहको प्रमाणपत्र तथा श्री वेंकटेश्वरा युनिभर्सिटी, तिरुपति, भारतबाट प्राप्त गरेको भनिएको ब्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स) को शैक्षिक प्रमाणपत्र झुट्टा रहेको अख्तियारले जनाएको छ। अनुसन्धानका क्रममा ती नक्कली प्रमाणपत्रका आधारमा उनले प्रतिष्ठानमा नियुक्ति प्राप्त गरी लामो समयसम्म पद, तलबभत्ता तथा अन्य सुविधा लिएको देखिएको अख्तियारले जनाएको छ।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिमको कसुर गरेको निष्कर्ष निकाल्दै सोही दफाबमोजिम कैद र जरिवानाको सजाय मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको जनाएको छ।







About Us
प्रतिक्रिया