काठमाडौं – कर्जा रकम दुरुपयोग गरेको आरोपमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अुनसन्धान ब्युराेकाे टाेलीले ५८ वर्षीय शर्मालाई काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो।
सीआईबीका अनुसार नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो। एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।
तर, कर्जा प्रवाहका क्रममा बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि दृष्टिबन्धक गर्ने कबुलियतनामा गरी कर्जा लिइएको तथा उक्त रकम कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध भएका व्यक्तिहरू र आफ्नै समूहअन्तर्गतका अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानीमा प्रयोग गरिएको सीआईबीले जनाएको छ।
राष्ट्र बैंकले उक्त कार्यलाई बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिम कर्जा रकम दुरुपयोग सम्बन्धी कसुर ठहर गर्दै अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको थियो। उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिई सीआईबीले उनलाई पक्राउ गरेको हो। बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।






About Us
प्रतिक्रिया