काठमाडौं – अनलाइन सट्टाबाजी खेल्ने तथा सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीका प्रत्युश मान सिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सवनम बानियाँ र पाल्पाका सुधन सुवेदी रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई अनलाइन सट्टाबाजी खेल्ने, खेलाउने तथा भिडियो बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने गरेको सूचनाका आधारमा माइतीघरबाट पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट चार थान मोबाइल फोन र चार थान सिमकार्ड बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आइएमई लगायतका बेटिङ वेबसाइट प्रयोग गरी सट्टाबाजी खेल्ने,तथा त्यससम्बन्धी भिडियो सामाजिक सञ्जालमा प्रचार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, वेबसाइट र मोबाइल बैंकिङ्गमार्फत २ करोडभन्दा बढीको आर्थिक कारोबार भएको देखिएको छ। उनीहरूमाथि ‘सट्टाबाजी गर्न वा गराउन नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।






About Us
प्रतिक्रिया