शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य बुढाथोकी पक्राउ


काठमाडौं- दाङको घोराही उपमहानगरपालिका– १५ स्थित पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको निर्वाचन बिथोल्ने उद्देश्यले शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १५ का वडा सदस्य ४२ वर्षीय उत्तम बुढाथोकी रहेका छन्। 

उनले असार २७ गते बिहान निर्वाचनका मतदान अधिकृतसमेत रहेका घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधिकृत ४८ वर्षीय अजय बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल रोकी उनको शरीरमा मोविल छर्किएका थिए। घटनापछि बुढाथोकी फरार रहेका थिए।

सोही घटनामा अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा २०८३ असार २८ गते मुद्दा दर्ता भएको थियो। त्यसपछि दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै असार २९ गते घोराही उपमहानगरपालिका९१५ बाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।