क्रिप्टो कारोबारमा संलग्न एक नेपालीसहित चार बंगलादेशी नागरिक पक्राउ


काठमाडौं – अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरीका सुभाष कुमार मण्डल तथा बंगलादेशी नागरिकहरू एमडी जुबायर अहमद, एमडी नुर आलम, एमडी नसिम मिया र एमडी रानी कमल रहेका छन्।

साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट बंगलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी ‘कतारस्थित कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने’ भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचारमार्फत सेवाग्राहीलाई शङ्कास्पद मोबाइल एप डाउनलोड तथा प्रयोग गर्न लगाई विद्युतीय माध्यमबाट बैंक खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुल्न आएको छ। साथै,अनुसन्धानको क्रममा निजहरूले अनलाइन ठगी र अवैधानिक बाइनास मार्फत क्रिप्टो कारोबार समेत गर्ने गरेको खुल्न आएको छ। 

उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।