बन्द भयो सरकारी खाता

एकै दिन ३३ अर्ब भुक्तानी, लक्ष्यको ७९ प्रतिशत मात्रै बजेट खर्च

पूँजीगत खर्चको बेहाल, वित्तीय खर्च ९० प्रतिशत


काठमाडौं – सरकारको बजेटरी खाता बन्द भएको छ। चालू आर्थिक वर्ष २०८२/८३ को बजेट खाता एकै दिन ३३ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गरेर बन्द भएको हो। कानूनी व्यवस्थाअनुसार चालू आर्थिक वर्ष सकिन ५ दिन अघि सरकारी खाता बन्द गर्नुपर्छ।

सोहीअनुसार एकै दिन ३३ अर्ब रुपैयाँ भुक्तानी गरेर सरकारी खाता बन्द भएको हो। महालेखा नियन्त्रकका अनुसार चालू वर्षमा सरकारले कूल १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ। यो लक्ष्यको ७९.६९ प्रतिशत हो।

चालू आर्थिक वर्षलाई सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याएको थियो। जसमध्ये १५ खर्ब ६५ अर्ब रुपैयाँ मात्रै खर्च भएको हो। यसअवधिमा चालू खर्च सबैभन्दा धेरै ८८ प्रतिशत भएको छ भने पूँजीगत खर्च ४४ प्रतिशतमा सिमित छ। यसैगरी, वित्तीय खर्च ९० प्रतिशत भएको छ।