काठमाडौं – नक्कली नेपाली नागरिकता बनाएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङका धनदेव राजवंशी र अशोक कुमार श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार सप्तरीको डाढा गाउँपालिका–३ स्थायी घर भई हाल विराटनगर–१४ बस्दै आएकी ३० वर्षीया मनिषा कुमारी कामत राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेकी थिइन्। सो क्रममा उनले २०६८ वैशाख २९ गते जारी भएको नेपाली नागरिकता प्रमाणपत्र पेस गरेकी थिइन्। प्रशासन कार्यालयको प्रारम्भिक जाँचका क्रममा उक्त नागरिकता शङ्कास्पद देखिएपछि प्रहरीलाई जानकारी गराइएको थियो।
जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–११ स्थित महेन्द्रचोकमा रहेको न्यू डोली फोटो सर्भिसेज मा खानतलासी गरेको थियो। उक्त फोटो स्टुडियो धनदेव राजवंशीले सञ्चालन गर्दै आएका थिए।
खानतलासीका क्रममा प्रहरीले विभिन्न व्यक्तिको नाममा जारी गरिएका १२ थान नेपाली नागरिकता प्रमाणपत्र, २० थान सवारी चालक अनुमति पत्र, २ थान मोबाइल फोन, १ थान कम्प्युटर सीपीयू, २ थान मोनिटर, नगद ३ हजार ५४० रुपैयाँ, १० थान खाली जन्मदर्ता फाराम, १ थान विवाह दर्ता फाराम, १ थान मृत्यु दर्ता फाराम तथा ‘न्यू डोली फोटो सर्भिसेज विराटनगर’ लेखिएको १ थान स्ट्याम्पप्याड बरामद गरेको जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया