काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार गठनको १०० दिन पूरा गरेसँगै सरोकारवालाहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्। कार्यभार सम्हालेदेखि हालसम्म निजी क्षेत्रसँग दूरी बनाएको भनी भइरहेको चर्चा र गुनासोका बीच प्रधानमन्त्री शाहले आज बुधबार (असार २४) निजी क्षेत्रका प्रमुख छाता संगठनका पदाधिकारीहरूलाई छलफलका लागि बोलाएका हुन्।
गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएदेखि हालसम्म शाहले निजी क्षेत्रसँग प्रत्यक्ष भेटघाट गरेका थिएनन्। निजी क्षेत्रका प्रतिनिधिहरूले भेटको प्रयास गर्दा पनि समय नपाएपछि व्यवसायीहरू माझ केही अन्योल र असन्तुष्टि देखिएको थियो।
सरकार गठनको सुरुवाती चरणमा बालेन नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरण, बैंकिङ्ग कसुर र वित्तीय अपराधमा संलग्न केही ठुला व्यवसायीहरूमाथि कडा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको थियो। ठुला व्यापारिक घरानाका व्यक्तिहरूमाथि अनुसन्धान चलिरहेको संवेदनशील अवस्थामा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गर्दा अनुसन्धान प्रभावित हुन सक्ने वा गलत सन्देश जाने भएकाले प्रधानमन्त्री शाह सचेत देखिएका थिए।
प्रधानमन्त्रीले मन्त्रालयका कर्मचारी र मन्त्रीहरूलाई समेत आफूसँग सिधै भेट्नुको साटो मुख्यसचिव मार्फत आउन निर्देशन दिँदै कार्यशैलीमा ‘प्रोटोकल’ लागू गरेका थिए। निजी क्षेत्रका समस्याहरू सुन्न उनले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र आफ्नो सल्लाहकार टिम (जस्तै अशिम साह) लाई अघि सार्दै एकद्वार प्रणाली अभ्यास गर्न खोजेका थिए।
सम्पत्ति शुद्धीकरण र बैंकिङ्ग कसुरको अनुसन्धानका क्रममा उद्योगी-व्यवसायीहरू लगातार समातिन थालेसँगै प्रधानमन्त्रीले निजी क्षेत्रका कुनै पनि प्रतिनिधिसँग भेटघाट गरेका थिएनन्। इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले पक्राउ गरेको थियो । उनीहरूमाथि जगदम्बा स्टिल्सको नाममा लिएको कर्जा अपचलन गरेको आरोपमा उच्च अदालत पाटनमा ४२ करोड १४ लाख रुपैयाँ बिगो दाबीसहित बैंकिङ्ग कसुरको मुद्दा दायर भइसकेको छ।
शंकर ग्रुपका संस्थापक अध्यक्ष शंकरलाल अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पक्राउ गरिएको थियो। भट्टसँगको शंकास्पद साझेदारी र कारोबारका कारण उनको नाम अनुसन्धानको घेरामा परेको हो। हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष तथा गोल्छा ग्रुपका प्रमुख शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो।
ठुला व्यवसायीहरूमाथिको कानुनी कारबाहीले निजी क्षेत्रमा एक प्रकारको त्रास र अन्योल छाएको बेला प्रधानमन्त्री शाहले उनीहरूको आत्मविश्वास बढाउन र देशको अर्थतन्त्रलाई चलायमान बनाउन यो विशेष संवाद थालेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे बस्ने उच्चस्तरीय बैठकमा देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण र सरकारी–निजी क्षेत्रको सहकार्यका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।
बैठकमा निजी क्षेत्रको नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष अञ्जन श्रेष्ठ र उद्योग समिति सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघ (सीएनआइ) का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मलहोत्रालगायतको उपस्थिति रहनेछ। लामो समयको मौनता पछि प्रधानमन्त्री बालेनले निजी क्षेत्रसँग बढाएको यो हातलाई व्यावसायिक जगतले निकै चासोका साथ हेरेको छ।






About Us
प्रतिक्रिया