काठमाडौं – समग्र बैंकिङ्ग क्षेत्रको वित्तीय स्थायित्वका सूचकहरू सन्तोषजनक देखिए पनि केही बैंक तथा वित्तीय संस्थाहरूमा थपिँदै गएको वित्तीय जोखिमप्रति नेपाल राष्ट्र बैंकले चिन्तित देखिएको छ। पछिल्लो समय केही संस्थाहरूमा तीव्र रूपमा बढिरहेको निष्क्रिय कर्जा (नन्प-पर्फर्मिङ लोन) र त्यसका कारण पूँजी कोषमा परेको दबाबबाट नेपाल राष्ट्र बैंक चिन्तित देखिएको हो।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेको हो। यहीकारण, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ती संस्थाहरूको सघन अनुगमन (इन्टेन्सिटिभ मोनिटरिङ) गर्ने संकेत दिएको छ। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीको समग्र स्वास्थ्य र प्रमुख सूचकहरू सुरक्षित सीमाभित्रै छन्। तर, केही सिमित संस्थाहरूको आन्तरिक वित्तीय अवस्था भने चुनौतीपूर्ण बन्दै गएको छ।
बजारमा आर्थिक शिथिलताका कारण कर्जा असुलीमा समस्या आउँदा निष्क्रिय कर्जाको अनुपात एकाएक बढेको हो। निष्क्रिय कर्जा बढेसँगै बैंकहरूले सम्भावित जोखिम व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ (जोखिम व्यवस्थापन कोष) मा राख्नुपर्ने हुन्छ। जसले सिधै बैंकहरूको पूँजी कोषमा गम्भीर दबाब सिर्जना गरेको छ।
पूँजी कोषमा दबाब पर्दा बैंकहरूको थप कर्जा प्रवाह गर्न सक्ने क्षमता मात्र रोकिँदैन, बल्कि सर्वसाधारणको निक्षेपको सुरक्षा र संस्थाको विश्वसनीयतामा समेत आँच आउने जोखिम रहन्छ। यही संवेदनशीलतालाई बुझ्दै राष्ट्र बैंकले खराब सूचक देखिएका बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निगरानीमा राख्ने छ।
केन्द्रीय बैंकले अब ती संस्थाहरूको कर्जाको गुणस्तर, प्रोभिजनिङको अवस्था र पूँजी पर्याप्तताको सुक्ष्म विश्लेषण गर्दै (सघन अनुगमन) रणनीति लागू गर्नेछ। यसअन्तर्गत राष्ट्र बैंकका निरीक्षण टोलीहरूले बैंकहरूको स्थलगत अनुगमनलाई तीव्र बनाउने र आवश्यक परे सुधारात्मक कदम चाल्न निर्देशन दिने बुझिएको छ।






About Us
प्रतिक्रिया