‘पर्ख र हेर’ को नीतिमा राष्ट्र बैंक, रेमिट्यान्स र पर्यटकको आवागमनले फरेक्स अझै बढ्ने आँकलन


काठमाडौं – नेपालमा रेमिट्यान्स (विप्रेषण) को उच्च आप्रवाह र आन्तरिक बजारमा मागको कमीका कारण बैंकिङ्ग प्रणालीमा अधिक तरलता (एक्सेस लिक्विडिटी) चुलिएको छ। आन्तरिक बजारमा कर्जाको माग सोचेअनुरूप नबढ्दा बैंकहरूमा निक्षेप थुप्रिएको तर, त्यसको सही उपयोग हुन नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आगामी आर्थिक वर्षको समष्टिगत आर्थिक प्रतिवेदन (म्याक्रोइकोनोमिक रिपोर्ट) को आउट लुक प्रस्तुत गर्दै राष्ट्र बैंकले यो स्थिति आगामी दिनहरूमा पनि निरन्तर रहने संकेत गरेको छ। आन्तरिक बजारमा माग बढेर आर्थिक गतिविधिहरू चलायमान भएमा र कर्जा प्रवाह बढेमा अहिलेको अधिक तरलता केही हदसम्म व्यवस्थापन हुन सक्ने अनुमान गरिएको छ।

तर, अर्कोतर्फ रेमिट्यान्सको वृद्धिदर कायम रहने, पर्यटन क्षेत्र सुधारोन्मुख हुने र सेवा क्षेत्रको निर्यात आम्दानी बढ्दै जाने प्रक्षेपणका कारण वैदेशिक मुद्रा सञ्चिति (फरेन एक्सचेन्ज रिजर्भ) अझै माथि जाने देखिन्छ। यसले गर्दा आगामी दिनमा तरलता व्यवस्थापन झनै चुनौतीपूर्ण बन्न सक्ने आकलन राष्ट्र बैंकको छ।

यो वर्षको मौद्रिक नीति निर्माणको चरणमा रहँदा राष्ट्र बैंकसामु दोहोरो चुनौती देखिएको छ। सामान्यतया, प्रणालीमा अधिक तरलता हुँदा ब्याजदर घटाउनुपर्ने दबाब हुन्छ। तर, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि (ग्लोबल प्राइस) सुदृढ वा केही चापमा रहने अवस्था आएमा ब्याजदर बढाउनुपर्ने स्थिति पनि सिर्जना हुन सक्छ।

विश्वका अन्य केन्द्रीय बैंकहरूको अभ्यासलाई हेर्दा धेरैजसो मुलुकहरूले अहिले ‘पर्ख र हेर’को नीति अख्तियार गरेका छन्। केही देशहरूले मात्र कसिलो मौद्रिक नीति लिएका छन्। यस्तै, भने ब्याजदर घटाएर खुकुलो नीति लिने देशहरू अत्यन्तै न्यून छन्। अन्तर्राष्ट्रिय अभ्यास र घरेलु परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले हालका लागि ब्याजदरहरूमा तत्काल कुनै ठुलो परिवर्तन नगर्ने र वर्तमान स्थितिलाई नै निरन्तरता दिने सोच बनाएको कार्यकारी निर्देशक सत्येन्द्र तिमल्सिना बताउँछन्।

‘आगामी दिनमा बजारमा मूल्यको उतारचढाव कसरी हुन्छ, ब्याजदरको प्रवृत्ति कस्तो रहन्छ, तरलताको अवस्था र समग्र बजारको मागले आर्थिक वृद्धिलाई कसरी अगाडि बढाउँछ भन्ने कुराको गहिरो विश्लेषण गरेर मात्रै वर्तमान रेटहरूमा परिमार्जन गरिनेछ’, उनले मौद्रिक नीतिपछि आयोजित कार्यक्रममा भने।हाललाई चालु त्रैमासिकका लागि पनि राष्ट्र बैंकले यही ‘पर्ख र हेर’ कै रणनीति लाई निरन्तरता दिने निर्णय गरेको छ।