काठमाडौं – ८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित जम्बुडाँडा पुलको बागमती करिडोरमा नियमित चेकजाँचका क्रममा एक स्कुटरबाट ठुलो परिमाणमा भेप बरामद गरिएको थियो। स्कुटर चालक कागेश्वरी मनोहरा–१ गाँगलफेदीका आदेश खड्का र सौजन सिम्खडालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी, कागेश्वरी मनोहरा–७ विष्टगाउँमा आरएफ ०७६७१ नम्बरको गाडी चेकजाँच गर्दा चालक चिनियाँ नागरिक लिउ वेइ तथा रसुवाको चिलिमे गाउँपालिका–५ घर भएका आकाश तामाङ र अर्जुन तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले चिनियाँ नागरिक लिउ वेइ बस्दै आएको ललितपुरको बागडोलस्थित कोठामा खानतलासी गर्दा थप भेप, नगद तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट ८८१ थान भेप, ६ लाख नगद, चाँदीको हात्तीका मूर्ति ४ थान, चिनियाँ मुद्रा ५०३ युआनलगायत बरामद गरेको छ ।






About Us
प्रतिक्रिया