काठमाडौं – जग्गा–जमिन खरिद गर्ने उद्देश्यले काठमाडौं आएका एक जनालाई आफूहरू प्रहरी भएको भन्दै डर, त्रास र धम्की देखाई लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका राम शरण दमाई, काठमाडौंका सविन खवास, पर्साकी लक्ष्मी गोले र सिन्धुलीका शेर बहादुर मोक्तान रहेका छन्।
प्रहरीका अनुसार सिन्धुलीको घ्याङलेख गाउँपालिका घर भई काठमाडौंको वनस्थलीमा डेरा गरी बस्ने शेरबहादुर मोक्तानको कोठामा उनका चिनजानका धनबहादुर मोक्तान जग्गा–खरिद गर्ने सिलसिलामा काठमाडौं आएका थिए।
सोही क्रममा ५–६ जनाको समूहले आफूहरू प्रहरी भएको परिचय दिँदै धनबहादुर मोक्तानलाई नियन्त्रणमा लिएको, हतकडी लगाएर डरत्रास देखाइ उनीसँग रहेको १० लाख ९५ हजार नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, उनीहरूबाट प्रहरीले २ लाख (एक हजार दरका नोट) बरामद गरेको छ।






About Us
प्रतिक्रिया