पूर्वअर्थमन्त्री पौडेललाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौं – विषेश अदालतले पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। उनलाई आज अदालतले तीन दिन म्याद थप गरेको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धानका लागि थप ३ दिन म्याद थपको अनुमति दिएको हो। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। असार ९ मा उनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो।

साथै, उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गर्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्चमा रिट दायर गरेकी छिन्। उक्त रिटमा यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो।