रौतहट- रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्। समयमै नगरसभा गरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नेमा गौर, चन्द्रपुर, परोहा, मौलापुर, बौधीमाई, गुजरा, इशनाथ, देवाहीगुनाही, माधवनारायण, गढीमाई, राजपुर, बृन्दावन, राजदेवी नगरपालिका छन्।
दुर्गाभगवती तथा यमुनामाई गाउँपालिकाले पनि गाउँसभा गरिसकेका छन् भने कटहरिया, गरुडा र फतुवा विजयपुर नगरपालिकाले भने नगरसभा गरेका छैनन्। जिल्लाकै सबैभन्दा ठूलो चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब २१ करोड ८० लाख रूपैयाँको बजेट विनियोजन गरेको छ।
नगरप्रमुख सञ्जयकुमार काफ्ले र उपप्रमुख जयमाला चौधरीले पालिकाको १७औँ नगरसभाले आव २०८३/८४ का लागि रु एक अर्ब २१ करोड ८० लाखको बजेट विनियोजन गरेको बताए। त्यसैगरी, गौर नगरपालिकाको १८औँ नगरसभा आगामी आवका लागि ५३ करोड ८८ लाखभन्दा बढीको बजेट प्रस्तुत गरिएको छ। नगरको समग्र विकास, सुशासन र समृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै नगरप्रमुख शम्भु साहले बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यस्तै, मौलापुर नगरपालिकाले पनि आफ्नो नगरसभामार्फत आगामी आव २०८३/८४ को लागि करिब ४२ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको नगरप्रमुख रिनाकुमारी साहले जानकारी दिए। बजेटले विगतदेखि नै सञ्चालनमा रहेको ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ भने बिजुली र खानेपानी निःशुल्क तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई प्रभावकारी रूपमा अघि बढाउने उद्घोष गरेको छ।
गढीमाई नगरपालिका प्रमुख श्याम यादवले आव २०८३/८४ का लागि ५९ करोड २२ लाख ५५ हजार रूपैयाँको बजेट विनियोजन गरिएकामा चालु खर्चतर्फ ४० करोड ९० लाख ४७ हजार रूपैयाँ र पुँजीगत खर्चतर्फ १८ करोड ३२ लाख आठ हजार रूपैयाँ रहेको बताए।
त्यसैगरी, बौधीमाई नगरपालिकाको १२औँ नगरसभा नगरप्रमुख प्रदीप राय यादवको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख प्रमिला देवीले आव २०८३/८४ का लागि ६३ करोड ९६ लाख चार हजार रूपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरेका थिए।
वृन्दावन नगरपालिकाको ११औँ नगरसभामा आगामी आव २०८३/८४ का लागि ६० करोड ९२ लाख २५ हजार ८८१ रूपैयाँको बजेट प्रस्तुत गरिएको नगरप्रमुख विनोदप्रसाद कुर्मीले जानकारी दिए। राजपुर नगरपालिकाको १०औँ नगरसभा आगामी आव २०८३/८४ का लागि ५० करोड २१ लाख ९३ हजार रूपैयाँको आयव्ययको विवरण प्रस्तुत गरियो। माधव नारायण नगरपालिकाको ११औं नगरसभामा आव २०८३/८४ का लागि ५० करोड २९ लाख २० हजार रूपैयाँको आयव्ययको बार्षिक अनुमान विवरण प्रस्तुत गरिएको छ।






About Us
प्रतिक्रिया