गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा एक जना पक्राउ


काठमाडौं – नेपाल मेडिकल काउन्सिलको नियमित अनुगमनका क्रममा गैरकानूनी रूपमा चिकित्सा अभ्यासमा संलग्न एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौंकी चेतन ए.एम(पौडेल) रहेकी छिन्। 

नेपाल मेडिकल काउन्सिल बाँसबारीले गरेको अनुगमनका क्रममा काठमाडौं महानगर क्षेत्रअन्तर्गत चन्द्रागिरी नगरपालिका–८ मा सञ्चालित स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा कार्यरत पौडेलले चिकित्सकको मान्यता प्राप्त उपाधिको प्रयोग गर्नुका साथै नेपाल मेडिकल काउन्सिलमा दर्ता नभई बिरामीहरूको आधुनिक चिकित्सा विधिबाट निदान तथा उपचार गरिरहेको भेटिएको प्रहरीले जनाएको छ। 

अनुगमनका क्रममा बिरामीलाई औषधि सिफारिस गरिएको प्रेस्क्रिप्सनसमेत फेला परेपछि नेपाल मेडिकल काउन्सिलले छानबिन प्रतिवेदनसहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीसमक्ष उजुरी दिएको थियो।

उजुरीका आधारमा प्रारम्भिक अनुसन्धानपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खटिएको प्रहरी टोलीले पौडेललाई चन्द्रागिरी–८ बाट पक्राउ गरेको हो। प्रहरीले पक्राउपछि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘इलाज सम्बन्धी कसूर’मा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।