काठमाडौं – पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको थुनाविरुद्धको रिटमाथि सुनुवाइ सकिएको छ। पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको हो।
पौडेलको थुनाविरुद्ध दायर गरिएको रिटमा विशेष अदालत, सरकारका विभिन्न निकाय तथा अनुसन्धान निकायलाई विपक्षी बनाइएको छ। सर्वोच्च अदालतको अभिलेखअनुसार रिट निवेदन असार १० गते दर्ता भएको हो।
रिटमा वादीका रूपमा विष्णु प्रसाद पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेल उल्लेख छन् भने प्रतिवादीतर्फ विशेष अदालत बबरमहल काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुलचोक ललितपुर र जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान तथा कारबाही शाखा वीरेन्द्रनगर सुर्खेतलाई विपक्षी बनाइएको छ।
रिट बन्दी प्रत्यक्षीकरणसम्बन्धी रहेको र यसको सुनुवाइ भइसकेको सर्वोच्च अदालतको विवरणमा उल्लेख छ। मुद्दाको पेसी असार ११ गते (आज) तोकिएको थियो। सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइ भएको हो। बन्दी प्रत्यक्षीकरण रिट कुनै व्यक्तिलाई कानुन विपरीत थुनामा राखिएको दाबी गर्दै तत्काल अदालतबाट न्यायिक परीक्षण गराउन माग गरिने संवैधानिक उपचारको बाटो हो।






About Us
प्रतिक्रिया