मलेसिया र बेलारूस पठाइदिन्छु भन्दै २३ लाख ठगी गर्ने तीन जना पक्राउ 


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय विशाल बानिया, काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन्। 

पक्राउमध्ये विशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रुपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।  

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विशाल र रिजनलाई काठमाडौं महानगरपालिका–१४ बाट  र प्रिन्सीलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको  हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।