कालीकोट – रास्कोट नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कूल ५६ करोड ६७ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन् ।
नगरपालिकाले प्रस्तुत गरेको कूल ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ ९ करोड ७६ लाख, सशर्त अनुदान चालुतर्फ १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ १० करोड ४५ लाख रहेको छ ।
‘सङ्घीय विशेष अनुदान रु ६१ लाख, समपूरक अनुदान रु दुई करोड ५९ लाख र राजस्व बाँडफाँटबापत रु सात करोड ९१ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ’, उपप्रमुखले भने, ‘प्रदेश सरकारका तर्फबाट रास्कोटले समानिकरण अनुदानमा १ करोड ३८ लाख ४६ हजार, सशर्त अनुदान चालुमा २२ लाख पाँच हजार, सशर्त अनुदान पुँजीगतमा १ करोड ५५ लाख, विशेष अनुदानमा ३५ लाख र समपूरक अनुदान पुँजीगततर्फ १ करोड १९ लाख प्राप्त गर्नेछ ।’ प्रादेशिक राजस्व बाँडफाँटबाट १० लाख आर्जन हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले आफ्नो आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व) बाट कूल बजेटको ३.०९ प्रतिशतअर्थात् १ करोड ७५ लाख सङ्कलन गर्ने लक्ष्य लिएको छ । प्रस्तावित कूल व्ययमध्ये चालुतर्फ ६१.४२ प्रतिशतअर्थात् ३४ करोड ८१ लाख १ हजार र पुँजीगततर्फ ३८.५८ प्रतिशतअर्थात् २१ करोड ८६ लाख ५० हजार विनियोजन गरिएको छ ।
क्षेत्रगत रुपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कूल बजेटको ६४.८८ प्रतिशतअर्थात् ३६ करोड ७७ लाख ५ हजार छुट्याएको छ । शिक्षा क्षेत्रका लागि २० करोड, स्वास्थ्यतर्फ १५ करोड ७६ लाख ५ हजार विनियोजन भएको छ । सोबाहेक आर्थिक विकास क्षेत्रमा २ करोड ४८ लाख, पूर्वाधार विकासतर्फ ६ करोड पाँच लाख ५० हजार (१०.६८ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड २८ लाख ५० हजार र वन तथा वातावरण क्षेत्रमा २० लाख बाँडफाँट गरिएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १७।४४ प्रतिशतअर्थात् ९ करोड ८८ लाख ४६ हजार विनियोजन भएको नगरपालिकाले जनाएको छ । कालीकोटको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्यका साथ कालीकोटको नगरसभा सम्पन्न भएको थियो ।






About Us
प्रतिक्रिया