सामान खरिद गरी पैसा तिरेकाे नक्कली म्यासेज र स्टेटमेन्ट देखाई २ लाख ८५ हजार ठगी गर्ने गुरुङ पक्राउ


काठमडौं – सामान खरिद गरी रकम भुक्तानी भएको नक्कली म्यासेज र स्टेटमेन्ट देखाई ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको इलाम नगरपालिका– ६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफल बस्ने बिवेक गुरुङ रहेका छन्। 

उनले विभिन्न समयमा काठमाडौंस्थित विभिन्न मदिरा पसलहरूमा गई ‘जन्मदिनको’ पार्टी छ भनी मदिरा लिई अनलाइन मार्फत रकम भुक्तान गरी दिन्छु भनि ‘Your 00###22### has been deposited by NPR ….’ जस्ता म्यासेजमा मदिराको रकम राखी आफ्नो नम्बरबाट पसलेको नम्बरमा म्यासेज पठाउने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

उनले रकम भुक्तानी हुनुभन्दा अगावैको  स्टेटमेन्ट देखाई  ठगी गर्ने गरेका थिए। उनले काठमाडौंको स्वयम्भू एरियामा १२ वटा मदिरा पसलहरूमा १ लाख ३९ हजार र काठमाडौंको बालाजु एरियामा १५ वटा मदिरा पसलहरूमा एक लाख ४६ हजार गरी जम्मा २७ वटा मदिरा पसलहरूमा ठगी गरेको हालसम्मको अनुसन्धानमा खुल्न आएको छ। गुरुङलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिन को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।