काठमाडौं – १५ जेठमा बजेट भाषण हुनुअघि सूचना चुहिएर भित्रिएको आशंकामा छानबिनमा परेका बीवाइडीका ६४९ वटा गाडी छुटेका छन्। भन्सार विभागका अनुसार छानबिन प्रतिवेदनमा कैफियत नभेटिएपछि उक्त गाडी छुटाइएका हुन्।
बजेटमार्फत कर बढ्ने सूचना चुहाएर व्यवसायीलाई लाभ हुने गरी उत्तरी नाकाबाट सवारीसाधन बजेटअघि भित्र्याइएको आरोप थियो। प्रहरीमार्फत गाडी रोकिएको अवस्थामा थिए। मुस्ताङको कोरोला र रसुवाको रसुवा भन्सार कार्यालयबाट छुट्न लागेको अवस्थामा गाडीहरू नियन्त्रणमा लिइएको थियो।
बजेटको मुखैमा रसुवाबाट २ सयभन्दा बढी र कोरोलाबाट ६४९ वटा विद्युतीय गाडी पुरानै र नियमित आयात प्रक्रियाबाट नेपाल भित्रिएका थिए। तर, यी गाडी आयात गर्ने व्यवसायीहरूले बजेट बनाउने निकायबाट भन्सार महसुल बढ्ने वा घट्ने सूचना पाएको विषयमा अध्ययन नभई जाँचपास प्रक्रियामाथि छानबिन गरि छोडिएको भन्सार स्रोतले जानकारी दिएको छ।
यद्यपि रसुवा भन्सार कार्यालयबाट लक्ष्मी इमोबिलिटी नामक कम्पनी (काठमाडौं) ले कायी ब्रान्डका २०० गाडी आयात गरेको विषयमा छानबिन नटुंगिएको विभागले जानकारी दिएको छ। उसो त अर्थ मन्त्रालयले छानबिन अगावै भन्सार महसुलको सूचना लिक नभएको दाबी पेस गरिसकेको थियो।





About Us
प्रतिक्रिया