अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेटः अर्थमन्त्री


काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारलाई केन्द्रमा राखेर ल्याइएको बताइएइका छन्। राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयनमा चुनौती रहे पनि नयाँ ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

अर्थमन्त्रीले बजेट सुशासन, मध्यम वर्गको विस्तार, रोजगारी सिर्जना तथा निजी क्षेत्रको प्रवद्र्धनलाई केन्द्रमा राखेर निर्माण गरिएको बताए। निर्वाचनपूर्व सार्वजनिक गरिएको प्रतिबद्धतापत्रअनुसार आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई प्राथमिकतामा राखिएको उनले बताए।

‘हामीले सुशासनलाई केन्द्रमा राखेका छौँ, आम नागरिकको चासोका विषय आर्थिक, राजनीतिक तथा न्यायिक सुशासनलाई अगाडि बढाएका छौँ,’ उनले भने,‘मुलुकको समृद्धिका लागि मध्यम वर्गको विस्तार आवश्यक छ। निम्न आय भएका वर्गलाई माथि उकास्दै मध्यम वर्ग विस्तार गर्न खोजिएको हो। गरिब तथा तल्लो आय भएका वर्गलाई बेवास्ता गरिएको भन्ने टिप्पणी वास्तविकताभन्दा फरक छ।’

उनले २१ वटा आर्थिक क्षेत्र पहिचान गरी आगामी पाँच वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य बजेटले लिएको जानकारी दिँदै सडक पूर्वाधार विस्तार, प्रवासी नेपालीलाई लगानीकर्ता तथा विकासका संवाहकका रूपमा परिचालन गर्ने नीति तथा निजी क्षेत्रलाई आर्थिक वृद्धि र लगानीको प्रमुख साझेदारका रूपमा अघि बढाइएको बताए।

कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्णरूपमा पुरानो रुपमा फर्किन नसकेको उल्लेख गर्दै उनले निजी लगानीमा अझै अनिश्चितता रहेको स्वीकार गरे। ‘मध्यम वर्गको क्रयशक्ति कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सक्दैन,’ उनले भने,‘त्यसैले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरेका छौँ।’

सामाजिक सुरक्षाका कार्यक्रम कटौती नगरिएको, बरु थप विस्तार गरिएको उल्लेख गर्दै उनले कृषि आधुनिकीकरण, श्रमिक सुरक्षा, कृषि बीमा, रोजगारी तथा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए। राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते शुक्रबार अपराह्न १ः१५ बजे बस्नेछ।