उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउँछौँः अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन्। बजेट सार्वजनिक भएको दुई दिनपछि आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट बनाउन लागिएको बताए।

‘अब हरेक भ्याट बिल अटोमेटिक लट्री टिकट बन्दैछ, लट्री टिकटबाट हरेक दिन हामी केहीलाई लखपति बनाउँछौँ।’ उक्त योजनामा विदेशबाट विप्रेषण पठाउने नेपालीलाई पनि सहभागी गराइने उनको भनाइ छ। सो व्यवस्थाअनुसार मूल्य अभिवृद्धिकरको बीलबिजक लिने संस्कृतिलाई प्रोत्साहन गर्नुका साथै कर छली नियन्त्रण र राजस्व सङ्कलनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको उनले बताए।

उनले राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नका लागि उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिइएको बताए। मध्यम वर्गलाई अत्यधिक करको भार नथोपरिएको स्पष्ट पार्दै अर्थमन्त्री वाग्लेले १० लाख रूपैयाँसम्मको वार्षिक आम्दानीमा एक प्रतिशत कर लाग्ने व्यवस्था गरिएको उल्लेख गरे।