कर्मचारीको तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा शंका नहोस्ः अर्थमन्त्री डा. वाग्ले


काठमाडौं – अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले तलब वृद्धिको विषयलाई लिएर सरकारले कर्मचारीलाई ढाँटेको वा झुक्क्याएको भन्ने गुनासो बाहिर आएको बताएका छन्। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्। 

उनले  भने,‘तलब वृद्धि २१ प्रतिशत नै हो, यसमा शंका नहोस्। बाहिर सरकारले ढाँट्यो कि क्या हो, झुक्कायो भन्ने कुरा उठिरहेको छ। त्यस्तो हुँदैन।’ १० प्रतिशत आधार तलब बेसमा बढेको र अर्को १० प्रतिशत कार्यसम्पादनसँग जोडिने गरी बढाइएको हो।’

उनका अनुसार, अहिले सबैलाई एकमुष्ट तलब बढाइएको भएपनि आगामी दिनमा यसलाई कार्यसम्पादनको आधारमा मापन गर्न सकिने गरी सुधार गर्दै लैजाने र प्रोत्साहन भत्ता कार्यसम्पादनकै आधारमा दिइने व्यवस्था लागू गरिने उनले बताए। साथै, विगतदेखि दिइँदै आएको ५ हजार रुपैयाँ महँगी भत्तालाई पनि निरन्तरता दिइएको उनले बताए। 

त्यस्तै, बजेट कार्यान्वयनलाई सरकारले फरक ढङ्गले गर्ने भएको उनले बताए। उनले संसद्बाट कर्मचारी तन्त्रको तारिफ समेत गरेको बताए। सरकारी अड्डा अदालतमा ढिलासुस्ती र भ्रष्टाचारको जनगुनासो रहेको भन्दै उनले यही दैनिक सेवा प्रवाहलाई पनि मिसन मोड’मा रूपान्तरण गर्न कर्मचारीलाई प्रोत्साहन गरिएको प्रस्ट पारे। प्रधानमन्त्री बलेन शाहको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई मिसन मोड तिर लाग्दै गरिएको उनले बताए।