‘बजेटमा मध्यम वर्गसँगै अति विपन्न र पछाडि पारिएका समुदायलाई पनि समेटिएको छ’


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गसँगै अति विपन्न र पछाडि पारिएका समुदायलाई पनि समेटिएको बताएका छन्। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रामलयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्। 

उनले बजेटमा विशेषगरी मानव विकास सूचकाङ्कमा पछाडि परेका २५ वटा जिल्लाका बालबालिकाका लागि दिइँदै आएको पोषण भत्तालाई निरन्तरता दिइएको बताए। उनले दलित समुदायमाथि भएको ऐतिहासिक र संरचनागत विभेदलाई सम्बोधन गर्न उनीहरूको पोषण भत्ता दोब्बर बनाइएको र यसबाट देशभरका ३ लाख १३ हजार ७५३ बढी दलित बालबालिका लाभान्वित हुने बताए। 

अर्थमन्त्री वाग्लेले निजी विद्यालयमा पढ्ने बालबालिकाको शुल्कमा कर (समता शुल्क) लगाएको बताए। शिक्षा मन्त्रालयको ‘फ्ल्यागसिप’ कार्यक्रम अन्तर्गत देशभरका विद्यालयहरूको पूर्वाधार अडिट गर्न १ अर्ब रुपैयाँ विनियोजन गरिएको उनको भनाई छ। यसले नेपालको शिक्षा क्षेत्रको इकोसिस्टम सुधार गर्न र सरकारी लगानीलाई सही ठाउँमा परिचालन गर्न मद्दत पुग्ने उनको भनाइ।