काठमाडाैं -ललितपुरको कुपोण्डोलस्थित होटल हिमालयमा ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन (TNE) फोरम २०२६’ आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय कूटनीतिज्ञ, शैक्षिक नेतृत्वकर्ता, व्यवसायिक विज्ञ र नीति निर्माताहरू सहभागी भई नेपालको उच्च शिक्षामा सुधार गर्ने, स्नातकहरूको रोजगार क्षमताको अन्तरलाई कम गर्ने र देशलाई वैश्विक शैक्षिक मापदण्डसँग जोड्ने विषयमा छलफल गरेका छन्।
यस फोरमको आयोजना ग्लोकल प्रालि (Glocal Pvt. Ltd.) ले विभिन्न संस्थाहरूको बलियो सञ्जालसँगको साझेदारीमा गरेको हो। जसमा एकेडेमिक पार्टनरका रूपमा काठमाडौँ विश्वविद्यालय र एम्बार्क कलेज, नलेज पार्टनरका रूपमा टाइम्स हायर एजुकेशन (THE), सहयोगी नलेज पार्टनरका रूपमा युनेस्को (UNESCO), इन्डस्ट्री पार्टनरका रूपमा नेपाल उद्योग परिसंघ (CNI), एसोसिएसन पार्टनरका रूपमा इपान (IEPAN) तथा मिडिया पार्टनरका रूपमा द काठमान्डू पोस्ट र कान्तिपुर मिडिया ग्रुप (KMG) रहेका थिए।
दिनभर चलेको यस कार्यक्रममा वक्ता तथा प्यानलका सदस्यहरूले नेपाललाई बाहिरिने विद्यार्थीहरूको परम्परागत देशबाट छिमेकी मुलुक र विश्वभरका शिक्षार्थीहरूका लागि एक उत्कृष्ट रोजाइको केन्द्रका रूपमा रूपान्तरण गर्ने व्यावहारिक उपायहरूमा ध्यान केन्द्रित गरेका थिए।
कार्यक्रमका मुख्य आकर्षणहरू:
- वैश्विक शैक्षिक प्रवृत्ति र मुख्य मन्तव्य: बिहानी सत्रको सुरुवात टाइम्स हायर एजुकेशनका एशले मोकको प्रस्तुतिबाट भएको थियो, जसले वैश्विक शैक्षिक प्रवृत्ति र यसमा दक्षिण एसियाभित्र नेपालको स्थानबारे चर्चा गरे। सहभागीहरूले काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिकेश वाग्ले र अर्थशास्त्रका प्राध्यापक प्रा. डा. अच्युतप्रसाद वाग्ले लगायतका शीर्ष नेतृत्वबाट महत्वपूर्ण धारणा पनि सुने।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव परशुराम तिवारी पनि कार्यक्रममा उपस्थित थिए। उनले ट्रान्सनेशनल एजुकेशन (TNE) को अवधारणा, नेपालमा यसको स्वीकार्यता र यस क्षेत्रलाई प्रवर्द्धन गर्न नेपाल सरकारले प्रदान गरिरहेको सहयोगका बारेमा आफ्नो विशेष मन्तव्य राखे।
- प्यानल १: नेपाल एक क्षेत्रीय शैक्षिक केन्द्रका रूपमा: ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरको सहजीकरणमा भएको यस छलफलले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गरेको थियो। प्यानलमा नेपालका लागि बेलायती राजदूत महामहिम रोब फेन, अष्ट्रेलियाली दूतावासका डेपुटी हेड अफ मिसन ग्रेग क्लेम, आईईसी कलेजकी सीईओ तथा प्रबन्ध निर्देशक शैलजा अधिकारी र त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. महानन्द चालिसे वक्ताका रूपमा थिए। प्यानलले नेपाललाई एक विश्वसनीय क्षेत्रीय शैक्षिक केन्द्र बनाउन अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई स्थानीय नीतिगत सुधारहरूसँग जोड्ने सहयोगी इकोसिस्टम निर्माण गर्नुपर्ने निष्कर्ष निकाल्यो। अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सफलतापूर्वक आकर्षित गर्न नेपालले व्यवस्थित नियामक ढाँचा, पारदर्शी क्रेडिट ट्रान्सफर र वैश्विक मापदण्ड अनुकूलको बलियो गुणस्तर सुनिश्चितता स्थापित गर्नुपर्नेमा जोड दिइयो।
- विद्यार्थीहरूको आवाज: विद्यार्थीका आवश्यकताहरूलाई प्राथमिकता दिनका लागि दुई विद्यार्थीहरू- काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनका जुडोङ सी र एम्बार्क कलेजकी एमबीए छात्रा सब्रिना थापाले आफ्ना दृष्टिकोणहरू साझा गरे।
- प्यानल २: शिक्षाको गुणस्तर र रोजगारी: डाइनामिक पब्लिक स्कूलका प्रिन्सिपल डा. एनडी लामाद्वारा निर्देशित यस अपरान्हको सत्र कलेजको शिक्षालाई वास्तविक करियरका आवश्यकताहरूसँग मिलाउने विषयमा केन्द्रित थियो। प्यानलमा नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइट, सीएनआईका अध्यक्ष श्री वीरेन्द्रराज पाण्डे, नबिल बैंकका सीईओ मनोज ज्ञवाली र काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टका निमित्त डिन डा. रोशी लामिछाने थिए। यस सत्रको निष्कर्ष थियो कि- ‘KASH (Knowledge-ज्ञान, Attitude-दृष्टिकोण, Skills-सीप, र Habit-बानी) मा ध्यान केन्द्रित गरेर शैक्षिक संस्थाहरूले आफ्नो पाठ्यक्रमलाई सैद्धान्तिक ज्ञान मात्र दिने नभई उद्योगहरूले तत्काल खोज्ने व्यावहारिक क्षमता र कार्यस्थलको मानसिकता विकास गर्ने गरी पुनर्संरचना गर्न सक्छन्, जसले स्नातकहरूको रोजगार अन्तरलाई प्रभावकारी रूपमा कम गर्नेछ।’
- समापन विचार: कार्यक्रमको समापन काठमाडौ+ विश्वविद्यालयका एकेडेमिक एक्सीलेन्स निर्देशक प्रा. डा. हेमराज काफ्लेको संक्षेपिकरण र समीक्षासँगै भएको थियो।
भाष्यको परिवर्तन: श्रमबाट ज्ञानतर्फ
फोरमको उद्घाटन गर्दै ग्लोकल प्रालिका अध्यक्ष आशिष ठाकुरले यो भेला नेपालको आर्थिक र शैक्षिक स्थितिका बारेमा एक रणनीतिक राष्ट्रिय संवाद भएको कुरामा जोड दिए। वर्तमान समयमा अध्ययनका लागि बाहिरिने विद्यार्थीहरूको बहावले गर्दा भइरहेको ठूलो आर्थिक र बौद्धिक पलायन (ब्रेन ड्रेन) लाई औंल्याउँदै श्री ठाकुरले नेपालको आन्तरिक उच्च शिक्षा प्रणालीलाई बलियो बनाउनु पर्ने आवश्यकतामा जोड दिए।
‘कुनै पनि राष्ट्र संयोगले ज्ञानमा आधारित अर्थतन्त्र बन्दैन। यो दृष्टिकोण, प्रणाली, सहकार्य र निरन्तरताबाट बन्छ। नेपालले श्रम र पर्यटनबाट मात्र नभई ज्ञान, अनुसन्धान, नवप्रवर्तन र शिक्षाका माध्यमबाट पनि विश्वलाई योगदान दिन सक्छ भन्ने कुरामा हामीले विश्वास गर्ने साहस राख्नुपर्छ।’
ठाकुरले नेपालको TNE (ट्रान्सनेशनल एजुकेशन) इकोसिस्टम पहिले नै बलियो रहेको र करिब ५६ प्रदायकहरूले ३४,००० भन्दा बढी विद्यार्थीहरूलाई संलग्न गराइरहेको जानकारी दिए। आर्थिक वर्ष ७९/८० मा मात्रै यस क्षेत्रले आयकरमा २४ करोड ८० लाख रुपैयाँ र विद्यार्थी नियमन शुल्कमा १ करोड ५० लाख रुपैयाँभन्दा बढी योगदान गरेको थियो। उनले नेपालले भौतिक रूपमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न नसके पनि सुलभ, गुणस्तर-केन्द्रित साझेदारी, डिजिटल सिकाई प्रणाली र विशिष्टीकृत विधाहरूका माध्यमबाट उत्कृष्ट प्रदर्शन गर्न सक्ने उल्लेख गरे। यस परिवर्तनलाई प्रमाणित गर्न उहाँले थाइल्याण्डको एक विश्वविद्यालयका लागि वैश्विक अनलाइन लर्निङ कोर्सहरू विकास गर्न ग्लोकलले गरेको आफ्नै पहललाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो, जसले नेपाल अन्तर्राष्ट्रिय शिक्षाको उपभोक्ता मात्र नभएर योगदानकर्ताका रूपमा पनि अगाडि बढ्न सक्छ भन्ने प्रमाणित गर्दछ।
एक शसक्त कार्ययोजना: संयुक्त नेतृत्व समिति (Joint Leadership Committee)
पाँच घण्टा लामो यस कार्यक्रमको समापन गर्दै ग्लोकल प्रालिकी प्रबन्ध निर्देशक काजोल झाले जोसिलो धन्यवाद ज्ञापन र समापन मन्तव्य व्यक्त गरे। उनले फोरमको मुख्य प्रश्नमाथि विचार राखे। के नेपालले वास्तवमै आफ्नो प्राचीन विरासतलाई पुनर्जीवित गर्न सक्छ, जहाँ ज्ञान र रूपान्तरणका लागि खोजीकर्ताहरू आउने गर्दथे? झाले यस फोरमले एक ठूलो र ठोस सफलता हासिल गरेको घोषणा गर्नुभयो, जुन हो: संयुक्त नेतृत्व समिति (Joint Leadership Committee) को गठन।
‘यो समिति कुनै औपचारिक टिप्पणीका रूपमा मात्र सीमित रहने छैन, बरु यस भेलाको एक स्थायी परिणामका रूपमा रहनेछ। यसको कार्यादेश स्पष्ट छ: व्यवस्थित सम्बन्धन, पारदर्शी क्रेडिट पहिचान र नियामक स्थिरताका बारेमा आज यहाँ भएका स्पष्ट कुराकानीहरूलाई राष्ट्रिय नीतिहरूमा सिधै रूपान्तरण गरिनेछ।’
उपस्थित विद्यार्थीहरूलाई सम्बोधन गर्दै झाले यी शैक्षिक सुधारहरूको मुख्य उद्देश्य नै विद्यार्थीहरू हुन् भन्ने कुरा स्मरण गराए। आगामी वर्ष मापनयोग्य परिणाम, अझ गहिरो साझेदारी र बलियो गठबन्धनका साथ फर्कने दृढ प्रतिबद्धता व्यक्त गर्दै उनले ‘स्टडी इन नेपाल’ केवल एक नारा मात्र नभई दीर्घकालीन राष्ट्रिय दिशा हो भनी प्रमाणित गर्ने बताए। अन्तर्राष्ट्रिय विश्वविद्यालय साझेदारी, शिक्षण गुणस्तर, नीतिगत सामञ्जस्यता र रोजगारीको तत्परता जस्ता विषयमा महत्वपूर्ण छलफलको सुरुवात गरेर ‘स्टडी इन नेपाल एण्ड ट्रान्सनेशनल एजुकेशन फोरम २०२६’ ले देशका लागि एक दिगो ज्ञानमा आधारित अर्थतन्त्र स्थापना गर्ने स्पष्ट मार्ग तय गरेको छ।






About Us
प्रतिक्रिया