काठमाडौं – कहिले ’मार्सी चामलको भात’ खुवाएर देशका शीर्ष नेताहरूको सम्बन्ध जोड्ने सूत्रधार। कहिले बैंक र वित्तीय संस्थाविरुद्ध उपभोक्ता उचाल्ने विद्रोही। कहिले राज्यका उच्च पदस्थ व्यक्तिहरूको ’फेक डकुमेन्ट’ सार्वजनिक गर्ने अभियन्ता। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पछिल्लो समय नेपाली राजनीतिको सबैभन्दा विवादास्पद र अस्थिर पात्र बनेका छन्।
सामाजिक सञ्जालमा उनको एउटा भिडियो वा अभिव्यक्ति आउनासाथ त साइबर ब्युरो सक्रिय हुन्छ। पछिल्ला दुई वर्षमा मात्रै प्रहरीले उनलाई विभिन्न मुद्दामा कम्तीमा १० पटकभन्दा बढी नियन्त्रणमा लिइसकेको छ। हालै सोमबार (जेठ ४) मा पनि उनलाई पर्साको वीरगन्जबाट प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
कानुनले वर्जित गरेका अभिव्यक्ति, सामाजिक सञ्जालको दुरुपयोग (साइबर अपराध), राज्यविरुद्ध अराजकता फैलाउने र निषेधित क्षेत्र तोडेको आरोपमा प्रसाईँ पटक पटक पक्राउ पर्ने गरेका छन्।पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पक्राउ परिरहने प्रसाईँलाई तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले पनि पक्राउ गर्न छोडेन।
कतिसम्म भने प्रसाईँ आफैले पटक पटक हिरासतमा बस्नुपर्ने भएकाले कसरतका लागि कारागारमै ट्रेड मिलसमेत खरिद गरिदिएको बताएका थिए। प्रसाईँलाई पक्राउ गर्ने विषयमा सार्वजनिक वृत्तमा हाँसोको विषय बन्न थालिसकेको थियो। २१ फागुनको निर्वाचनपछि बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले लामो समयसम्म पक्राउन नपरेका प्रसाईँलाई सोमबार पुनः पक्राउ गरेको छ।
प्रसाईँको विवादित यात्रा
प्रसाईँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौँ रुपैयाँ लगानी रहेको दाबी गर्दै केही कागजपत्र सार्वजनिक गरे। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को छानबिनमा ती कागजपत्रहरू नक्कली (फेक डकुमेन्ट) प्रमाणित भएपछि उनी पक्राउ परे। त्यस्तै, नेपाली काँग्रेसको महाधिवेशन वैध बनाउन निर्वाचन आयोगले ५२ करोड रुपैयाँ घूस खाएको जस्तो गम्भीर र अपुष्ट आरोप उनले लगाएका थिए।
आयोगको उजुरीपछि साइबर ब्युरोले उनलाई पोखराबाट नियन्त्रणमा लिएको थियो। आफ्नो ’नागरिक बचाउ महाअभियान’ मार्फत व्यवस्था विरोधी भाषण दिने क्रममा प्रसाईँले सिंहदरबार, सर्वोच्च अदालत र देशका प्रतिष्ठित उद्योगीहरूको घरमा आगो लगाउनेसम्मका उत्तेजक र हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए। विभिन्न राजनीतिक दलका महिला नेत्रीहरू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सदस्यहरू र बैंकिङ्ग क्षेत्रका पदाधिकारीहरूको व्यक्तिगत चरित्र हत्या गरेको भन्दै उनीविरुद्ध साइबर ब्युरोमा दर्जनौँ उजुरी दर्ता छन्। उनीविरुद्ध गाली बेइज्जती र विद्युतीय कारोबार ऐन अन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दाहरू विचाराधीन छन्। जसमा सरकारी वकिलले उनीमाथि साढे ७ वर्षसम्मको कैद सजाय माग दाबी गरेका छन्।
नेपाली कानुनी व्यवस्थाको छिद्र र प्रसाईँको प्रवृत्तिका कारण प्रहरी प्रशासनका लागि उनी ‘हावाको सिरेटो जस्तै’ बनेका छन्, जो आउँछ, जान्छ र फेरि फर्किन्छ। प्रहरीले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्छ र अदालत वा जिल्ला प्रशासन कार्यालयमा बुझाउँछ। कानुनी प्रावधान अनुसार उनी पटक–पटक धरौटी वा हाजिर जमानीमा छुट्ने गर्छन्। तर, हिरासतबाट बाहिर निस्किनासाथ उनी पुनः उस्तै प्रकृतिका उत्तेजक भाषण र गतिविधिमा संलग्न भइहाल्छन्। देशमा हुन लागेका निर्वाचन बिथोल्ने र निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि गृह प्रशासनले उनलाई पटक–पटक हिरासतमा समेत राख्ने गरेको छ।
दुर्गा प्रसाईँको राजनीतिक हैसियतलाई लिएर केही समयअघि सेनाको मुख्यालय (जङ्गी अड्डा)मा समेत बहस भएको थियो। २३ र २४ भदौको जेन–जी आन्दोलन पछि नेपाली सेनाको मुख्यालयमा देशको तत्कालीन परिस्थितिबारे युवा आन्दोलनकारी र अभियन्ताहरूलाई छलफलका लागि बोलाइएको थियो। उक्त छलफलमा तत्कालीन प्रधानसेनापति अशोकराज सिग्देलले दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि उक्त युवा आन्दोलनको मुख्य ’स्टेकहोल्डर’ को रूपमा चित्रण गरेका थिए। तर, प्रधानसेनापतिले दुर्गा प्रसाईँ जस्तो विवादास्पद पात्रलाई आफ्नो आन्दोलनको स्टेकहोल्डर भनेपछि रक्षा बम लगायतका जेनजी आन्दोलनका वास्तविक अभियन्ताहरूले सैनिक नेतृत्वसमक्ष आपत्ति जनाएका थिए।
एमालेसँगको ‘लभ–हेट’ सम्बन्धस् मार्सी चामलदेखि दुस्मनीसम्म
प्रसाईँको राजनीतिक यात्राको सबैभन्दा रोचक पक्ष उनको नेकपा एमालेसँगको सम्बन्ध हो।कहिले उनले ओलीलाई ‘हजुरबा’ भनेर सम्बोधन गरेका थिए भने पछि उनी त्यही नेतृत्वका कडा आलोचक बने। २०७४ सालमा प्रसाईँको भक्तपुरस्थित घरमा केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्ली मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएपछि उनी राष्ट्रिय चर्चामा आएका थिए। २०७८ मा झापामा आयोजित कार्यक्रममार्फत उनी औपचारिक रूपमा एमाले प्रवेश गरे।
तर, बी एन्ड सी मेडिकल कलेजको सम्बन्धन विवाद र पार्टीभित्रको असन्तुष्टिपछि सम्बन्ध चिसिँदै गयो। २०७९ फागुन ११ गते एमालेले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन ग¥यो। त्यसपछि उनले एमाले नेतृत्वमाथि तीव्र आरोप लगाउँदै गए। कम्बोडिया लगानीदेखि भ्रष्टाचारसम्मका दाबी सार्वजनिक गरे।
२०७४ मा भक्तपुरस्थित प्रसाईँको निवासमा केपी ओली र प्रचण्डले ‘जुम्ली मार्सी चामलको भात’ खाएको तस्बिर सार्वजनिक भयो। यही भेटलाई एमाले–माओवादी गठबन्धन (नेकपा)को जग मानियो। प्रसाईँ एकाएक चर्चामा आए। कात्तिक २०७८ मा सर्वोच्चको फैसलाले नेकपा भङ्ग भएपछि झापामा आयोजित भव्य कार्यक्रमकाबीच प्रसाईँ औपचारिक रूपमा एमाले प्रवेश गरे । उनलाई केन्द्रीय सदस्य बनाइयो।
स्वार्थको टकराव स्वरूप प्रसाईँले आफ्नो झापास्थित ‘बी एन्ड सी मेडिकल कलेज’को सम्बन्धनका लागि एमाले र ओलीबाट ठुलो राजनीतिक सहयोगको अपेक्षा गरेका थिए। तर सम्बन्धन नपाएपछि नेतृत्वसँग असन्तुष्टि चुलियो। फागुन २०७९ मा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज पारस शाहलाई मञ्चमा राखेर मेचीबाट ’नागरिक बचाउ महाअभियान’ सुरु गरे। राजतन्त्र पुनर्स्थापना र सङ्घीयता खारेजीको एजेन्डा बोकेपछि २०७९ फागुन ११ गते एमालेले उनलाई पार्टीबाट निष्कासन गर्याे।
अहिले प्रसाईँ एमालेलाई ‘तस्कर र भ्रष्टाचारीहरूको पार्टी’ भन्दै प्रहार गरिरहेका छन् भने एमालेले प्रसाईँलाई बैंकको ऋण तिर्न नसकेर अराजकता फैलाउने मेडिकल माफिया र राजावादी पात्रको रूपमा चित्रण गर्दै आएको छ। २०८० मङ्सिर ७ गते काठमाडौंमा प्रसाईँ समूह र एमालेको भ्रातृ संगठन (युवा संघ) को आन्दोलन एकैदिन भएपछि काठमाडौंमा ठुलो सुरक्षा मुठभेडको स्थिति समेत सिर्जना भएको थियो।
कहिले – कहिले कस्तो आरोपमा समातिए प्रसाईँ ?
जेठ ४, २०८३ः प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको छ। सडक विस्तारका कारण पीडित स्थानीयको पक्षमा बोल्न उनी वीरगन्ज पुगेका थिए। प्रसाईँलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ।
१७ फागुन, २०८२ः प्रहरीले उनलाई २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बन्द आह्वान गरेपछि निर्वाचन आयोगको अनुरोधमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
४ फागुन, २०८२: प्रसाईँले ३ फागुनमा ‘नेपाल बन्द’ को कार्यक्रमसहित २१ फागुनको निर्वाचनमा सहभागी नहुन सार्वजनिक आव्हान गर्दै विज्ञप्ति जारी गरेपछि निर्वाचन आयोगको पत्रका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
माघ २३, २०८२ः काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेल क्षेत्रबाट प्रहरीले उनलाई पुनः नियन्त्रणमा लिएको थियो।
माघ ५, २०८२ः उनलाई निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा प्रहरीले पोखराबाट पक्राउ गरेको थियो।
मंसिर २, २०८२ः मध्यरातमा प्रसाईँलाई प्रहरीले भक्तपुरस्थित उनकै निजी निवासबाट पक्राउ गरेको थियो। हिंसा भड्किने गरी अराजक गतिविधि गर्न र अभिव्यक्ति दिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो।
चैत २८, २०८१ः तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा उनको भूमिकालाई लिएर उनी भारतबाट पक्राउ परेका थिए।
१४ मंसिर २०८१ः प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँलाई व्यवसायीलाई धम्क्याएर लाभ लिएको आरोपमा ‘संगठित रूपमा आपराधिक लाभ’सम्बन्धी अभियोगमा पक्राउ गर्यो।
मंसिर ४, २०८१ः तत्कालीन प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएपछि उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुर निवासबाट पक्राउ गरेको थियो।
असोज ६, २०८१ः साइबर अपराध तथा विद्युतीय कारोबार ऐनको कसुरमा उनलाई प्रहरीले भक्तपुरस्थित घरबाटै नियन्त्रणमा लिएको थियो।
माघ १, २०७६ः मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले अभद्र व्यवहार कसुरमा भक्तपुरस्थित निवासबाट पहिलो पटक पक्राउ गरेको थियो। चिकित्सा शिक्षा आयोगका तत्कालीन उपाध्यक्ष श्रीकृष्ण गिरीले उनीविरुद्ध गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएपछि सो कारबाही अघि बढेको थियो।






About Us
प्रतिक्रिया